रास्वपा महाधिवेशन : मणिष झाले महामन्त्री पदको उम्मेदवारी घोषणा

काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी महाधिवेशनमा पार्टीका प्रवक्ता मणिष झाले महामन्त्री पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। आइतबारदेखि सुरु भएको महाधिवेशनमा पदाधिकारी चयनका लागि सर्वसहमति जुटाउने तयारी भइरहेका बेला झाले प्रतिस्पर्धामा उत्रिने जनाएका हुन्।
महाधिवेशन स्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै झाले भने, ‘परिणाम जेसुकै आओस्, म महामन्त्रीमा भिड्न तयार छु। आजको व्यवस्थापन हेर्दा पनि अनुभवी व्यक्ति नेतृत्वमा चाहिन्छ भन्ने देखिएको छ। मैले अहिलेसम्म पार्टीमा लिएको जिम्मेवारीले महामन्त्री पदलाई न्याय गर्छु भन्ने लागेको छ।’
हाल रास्वपामा सभापति रवि लामिछानेको तर्फबाट कविन्द्र बुर्लाकोटी र बालेन शाहको तर्फबाट भूपदेव शाह महामन्त्री रहेका छन् । नेताहरूले वर्तमान महामन्त्रीहरूलाई नै निरन्तरता दिने तयारी गरेपछि झाले त्यसप्रति असहमति जनाउँदै उम्मेदवारी घोषणा गरेका हुन्।
बिहान ८ बजे सुरु हुने भनिएको बन्दसत्र भने दिउँसो २ः३० बजेसम्म पनि सुरु हुन सकेको छैन।





