९ असार २०८३, मंगलवार

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोधपूर्ण भएको एमालेको आरोप

काठमाडौँ — नेकपा एमालेले पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सुर्खेतमा नियन्त्रणमा लिइएको घटनालाई पूर्वाग्रही र प्रतिशोधपूर्ण भन्दै कानुनी तथा राजनीतिक रूपमा प्रतिवाद गर्ने चेतावनी दिएको छ।

एमाले महासचिव शंकर पोखरेलले उपाध्यक्ष पौडेलको गिरफ्तारी न्यायसम्मत अनुसन्धान प्रक्रियाको मान्यताविपरीत भएको आरोप लगाएका छन्। उनले कुनै पनि विषयमा पहिले निष्पक्ष र गहिरो अनुसन्धान, तथ्य तथा प्रमाण संकलन, अभियोजन र त्यसपछि अदालतको निर्णयका आधारमा मात्र प्रक्रिया अघि बढ्नुपर्ने बताएका छन्।

पोखरेलका अनुसार पौडेल पार्टी कार्यक्रममा सहभागी हुन सुर्खेत पुगेका बेला नियोजित रूपमा नियन्त्रणमा लिइएको हो। उनले केही समयअघि सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकले पौडेलसँग फोनमा कुराकानी गर्दै भोलि काठमाडौँ आएपछि सम्पर्कमा आउन आग्रह गरेको, तर त्यसको केही समयपछि सुर्खेत प्रहरीलाई पत्राचार गरी नियन्त्रणमा लिन निर्देशन दिएको दाबी गरेका छन्।

“यस घटनाले राज्यका अनुसन्धान गर्ने निकायहरू अदृश्य शक्ति केन्द्रबाट सञ्चालित भएको आशंका जन्माएको छ,” पोखरेलले भनेका छन्।

उनले राज्यका न्यायिक तथा अनुसन्धानमूलक निकाय स्वतन्त्र, निष्पक्ष र कानुनसम्मत हुनुपर्नेमा जोड दिएका छन्। त्यस्ता निकायका निर्णय राजनीतिक पूर्वाग्रह, प्रतिशोध वा सस्तो लोकप्रियताबाट प्रेरित हुन नहुने उनको भनाइ छ।

पोखरेलले अनुसन्धान र अभियोजन प्रक्रिया तथ्य, प्रमाण र कानुनको अक्षरशः पालनामा आधारित हुनुपर्ने उल्लेख गर्दै कसैलाई सिध्याउने वा रिसइबी साँध्ने हतियारका रूपमा प्रयोग गर्न नहुने बताए।

एमाले न्यायपूर्ण समाज र निष्पक्ष न्यायका पक्षमा सदैव अटल रहेको दाबी गर्दै उनले वास्तविक दोषी कानुनी कठघरामा आउनुपर्ने तर निर्दोष वा राजनीतिक रूपमा लक्षित व्यक्तिलाई पूर्वाग्रहको सिकार बनाउन नहुने बताए।

“उपाध्यक्ष विष्णुप्रसाद पौडेलको गिरफ्तारी उक्त मान्यताको विपरीत पूर्वाग्रही र प्रतिशोधपूर्ण देखिन्छ,” पोखरेलले भनेका छन्, “सस्तो लोकप्रियताका लागि सरकारको निर्देशनमा भएको यसप्रकारको प्रतिशोधपूर्ण कार्यको कानुनी र राजनीतिक रूपमा दृढतापूर्वक प्रतिवाद गरिनेछ।”

पौडेलको गिरफ्तारीपछि एमालेले अनुसन्धान निकायको स्वतन्त्रता, सरकारको भूमिका र कानुनी प्रक्रियाको निष्पक्षतामाथि प्रश्न उठाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button