९ असार २०८३, मंगलवार

मदनकृष्ण श्रेष्ठको जीवनीमा चलचित्र ‘मदनकृष्ण’ बन्ने

काठमाडौँ — वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। सोमबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा निर्देशक मिलन चाम्सले चलचित्र निर्माणको घोषणा गरेका हुन्।

यसअघि ‘बबी’, ‘ब्लाइन्ड रक्स’ र ‘अञ्जिला’ जस्ता बायोपिक चलचित्र निर्देशन गरिसकेका चाम्सले मदनकृष्ण श्रेष्ठको जीवनीलाई पर्दामा उतार्न पाउनु आफ्ना लागि अवसर र चुनौती दुवै भएको बताए।

“यो चलचित्र निर्देशन गर्न पाउँदा म निकै खुसी छु। सर्वप्रिय कलाकारको जीवनीलाई पर्दामा उतार्न पाउनु नै मेरा लागि ठूलो अवसर हो,” निर्देशक चाम्सले भने, “उहाँको जीवनबारे अध्ययन गर्दै जाँदा धेरै कुरा थाहा पाएँ। उहाँको जीवनी आफैँमा चलचित्रभन्दा कम छैन।”

कलाकार श्रेष्ठले आफ्नो जीवनकथालाई चलचित्रका रूपमा प्रस्तुत गर्न लागेकामा निर्माण टोलीलाई धन्यवाद दिए। स्वास्थ्यले साथ दिएसम्म आफू सक्रिय रूपमा काम गरिरहने उनको भनाइ थियो।

“म आफूले सकेको काम गरिरहेको छु। स्वास्थ्यले साथ दिएसम्म शरीरलाई जबर्जस्ती भए पनि काममा लगाइरहनेछु,” श्रेष्ठले भने, “मेरो जीवनीलाई चलचित्रमा ल्याउने आँट गर्नुहुने सम्पूर्ण टोलीलाई धन्यवाद।”

श्रेष्ठले आफ्नो जीवनकथा हरिवंश आचार्यबिना अधुरो हुने बताए। मह जोडीका रूपमा लामो सहयात्रा गरेका हरिवंशको भूमिका पनि चलचित्रमा महत्त्वपूर्ण हुने उनको भनाइ थियो।

“यो यात्रामा मसँगै ‘ह’ अर्थात् हरिवंशको पनि उत्तिकै साथ र भूमिका छ। मेरो जीवनी उहाँबिना अधुरो र अपुरो छ,” श्रेष्ठले भने, “पछि हरिवंशको पनि जीवनी पर्दामा ल्याइने कुरा भएपछि मैले मेरो बारेमा चलचित्र बनाउन सहमति दिएको हुँ।”

चलचित्रमा आफ्नो भूमिका निर्वाह गर्न लागेका कलाकार महेश त्रिपाठी उपयुक्त छनोट भएको पनि श्रेष्ठले बताए। पुराना तस्बिर हेर्दा आफू र महेशबीच अनुहारमा समानता देखिने र अभिनयमा पनि उनी सक्षम कलाकार भएको श्रेष्ठको भनाइ थियो।

“मेरो र महेशजीका पुराना तस्बिर हेर्ने हो भने उस्तै देखिन्छ। अभिनय त उहाँले गज्जब गर्नुहुन्छ,” श्रेष्ठले भने, “राम्रो चलचित्र बन्छ भन्नेमा म पूर्ण विश्वस्त छु।”

कलाकार हरिवंश आचार्यले मदनकृष्ण श्रेष्ठको जीवनी चलचित्रका लागि उपयुक्त भएको बताए। मह जोडीका रूपमा आफूहरूले गरेका काम, सहकार्य र मदनकृष्ण श्रेष्ठको जीवनका उतारचढाव दर्शकका लागि मनोरञ्जनसँगै सिकाइको विषय बन्ने उनको विश्वास छ।

“सबै कलाकारको नाम सानो वा ठूलो हुन सक्छ, तर सबैको जीवनीमा चलचित्रका लागि चाहिने खुराक नहुन सक्छ,” आचार्यले भने, “मदन दाइको जीवनलाई मैले जति बुझेको छु, उहाँका उतारचढावले दर्शकलाई मनोरञ्जनसँगै एउटा सिकाइ पनि दिन्छ भन्ने लाग्छ।”

आचार्यले मदनकृष्ण श्रेष्ठलाई आफूले अभिभावकका रूपमा मान्दै आएको र उनीहरूको सहयात्राले ४६ वर्ष पूरा गरिसकेको बताए। चलचित्रमा मदनकृष्ण श्रेष्ठसँगै मह सञ्चारसँग जोडिएका किरण केसी, राजाराम पौडेल, गौरीशंकर धुजु र नरेन्द्र कंसाकारको पनि सहकार्य रहने जनाइएको छ।

यम थापाको लेखन रहने चलचित्रमा महेश त्रिपाठीसँगै अभिनेत्री केकी अधिकारी, यमन श्रेष्ठ, रुषा न्यौपाने, देशभक्त खनाललगायत कलाकारको अभिनय रहनेछ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, गायिका आनी छोइङ डोल्मा, गायक प्रेमराजा महत, निर्देशक लक्ष्मण सुवेदी, सुदन केसीलगायतको उपस्थिति थियो।

निर्माण टोलीका अनुसार चलचित्रको छायांकन भदौदेखि सुरु हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button