९ असार २०८३, मंगलवार

मेसीले रचे इतिहास, १८ गोलसहित विश्वकपकै सर्वकालीन उच्च गोलकर्ता बने

काठमाडौँ — अर्जेन्टिनाका कप्तान लियोनल मेसीले फिफा विश्वकपको इतिहासमा सर्वकालीन उच्च गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखाएका छन्।

अमेरिकाको टेक्ससस्थित डलास स्टेडियममा सोमबार राति भएको समूह ‘जे’ को खेलमा अस्ट्रियाविरुद्ध अर्जेन्टिनाका लागि सुरुआती गोल गर्दै ३८ वर्षीय मेसीले ऐतिहासिक उपलब्धि हासिल गरेका हुन्। आफ्नो छैटौँ विश्वकप खेलिरहेका मेसीको विश्वकपमा गोल सङ्ख्या १८ पुगेको छ।

मेसीले खेलको ३८औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए। त्यसपछि इन्जुरी समयको थप गरिएको समयमा अर्को गोल गर्दै उनी पुरुष र महिला दुवै विश्वकपको इतिहासमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने। उनले ब्राजिलकी महान् महिला खेलाडी मार्ताको १७ गोलको कीर्तिमानलाई पछि पारेका हुन्।

यसअघि गत साता अल्जेरियाविरुद्ध ३–० को जित निकाल्ने क्रममा ह्याट्रिक गर्दै मेसीले जर्मनीका मिरोस्लाभ क्लोजेको १६ गोलको कीर्तिमान बराबरी गरेका थिए। अस्ट्रियाविरुद्धको खेलमा मेसीले सुरुवाती समयमा पेनाल्टी भने चुकाएका थिए।

सन् २००६ मा पहिलो पटक विश्वकप खेलेका मेसीले अर्जेन्टिनाका लागि २०१ खेल खेल्दै १२१ गोल गरिसकेका छन्। उनी लगातार छ वटा विश्वकपमा गोल गर्ने तेस्रो खेलाडीसमेत बनेका छन्।

मेसीको उत्कृष्ट लयले सन् १९६२ मा ब्राजिलपछि लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने पहिलो टोली बन्ने अर्जेन्टिनाको सपना थप बलियो बनाएको छ।

व्यक्तिगत चोट र पारिवारिक समस्याका बाबजुद मेसीको उपस्थिति टोलीका लागि सधैँ प्रेरणादायी रहँदै आएको छ। मेसीका बुबा अस्वस्थ रहेको र उपचार भइरहेको बुझिएको छ। ह्यामस्ट्रिङ समस्याका बाबजुद मैदान उत्रिएका मेसीबारे मिडफिल्डर एलेक्सिस म्याक एलिस्टारले भने, “यदि कसैलाई लियोविना यो टोली राम्रो छ भन्ने लाग्छ भने, आज प्रस्ट भयो कि लियो नै हाम्रा लागि सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्।”

अमेरिकी क्लब इन्टर मायमीबाट व्यावसायिक फुटबल खेलिरहेका मेसीले उत्तर अमेरिकामा भइरहेको यो विश्वकप खेल्ने विषयमा अन्तिम समयसम्म पनि औपचारिक रूपमा पुष्टि गरेका थिएनन्। यद्यपि साविक विजेता अर्जेन्टिनाको नेतृत्व उनैले गर्नेमा सबै विश्वस्त थिए।

पूर्व बार्सिलोना तथा पीएसजी स्टार मेसीले चार वर्षअघि अर्जेन्टिनालाई विश्वकप उपाधि दिलाउन निर्णायक भूमिका खेलेका थिए।

विश्वकपको सर्वकालीन गोलकर्ताको सूचीमा जर्मनीका मिरोस्लाभ क्लोजे १६ गोलसहित दोस्रो स्थानमा छन्। ब्राजिलका रोनाल्डो १५ गोलसहित तेस्रो स्थानमा छन् भने जर्मनीका गर्ड मुलर र फ्रान्सका केलियन एमबाप्पे १४–१४ गोलसहित संयुक्त रूपमा चौथो स्थानमा छन्।

अस्ट्रियामाथिको जितसँगै अर्जेन्टिनाले अर्को चरणमा प्रवेश गर्ने सम्भावना बलियो बनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button