९ असार २०८३, मंगलवार

वैदेशिक रोजगार विभागमा एकैदिन २६ जाहेरी दर्ता, ७ जना पक्राउ

काठमाडौँ — वैदेशिक रोजगार विभागले २०८३ असार ८ गते विभिन्न शाखामार्फत उजुरी सुनुवाइ, अनुसन्धान, उद्धार, क्षतिपूर्ति र गुनासो व्यवस्थापनसम्बन्धी कार्य सम्पादन गरेको जनाएको छ।

विभागको मुद्दा तथा अनुसन्धान शाखामा सो दिन एकैदिन २६ वटा नयाँ जाहेरी दर्ता भएका छन्। सोही अवधिमा शाखाले २५ वटा पक्राउ पुर्जी जारी गरेको छ भने २६ वटा पक्राउ अनुमति दिइएको छ।

विभिन्न मुद्दामा संलग्न ७ जनालाई पक्राउ गरी विभागमा उपस्थित गराइएको छ। त्यस्तै, ३ वटा मुद्दामा मिलापत्र गरिएको छ। पक्राउ अनुमति, बैंकलाई लेखिएका पत्र, अभियोगपत्रलगायतका विषयमा गरी कुल ७९ वटा पत्र चलानी भएका छन्।

उद्धार तथा समन्वय शाखाको विवरणअनुसार सोही दिन ६ वटा नयाँ उजुरी दर्ता भएका छन्। शाखाले ६ जनाको उद्धार गरेको छ भने ४ वटा क्षतिपूर्तिसम्बन्धी विषय टुंगो लगाएको छ।

उद्धार र क्षतिपूर्ति दुवै जोडिएका ३ वटा उजुरीमा कारबाही अघि बढाइएको छ। सो शाखाबाट जम्मा ८ वटा मुद्दा फर्छ्यौट गरिएको विभागले जनाएको छ। साथै, द्विपक्षीय छलफल र फोन फलोअपमार्फत पीडितका समस्या समाधान गर्ने प्रयास पनि जारी राखिएको छ।

गुनासो व्यवस्थापनतर्फ सरकारी संयन्त्र ‘हेलो सरकार’ मार्फत प्राप्त ६९ वटा गुनासोमध्ये ३५ वटाको समाधान गरिएको छ। बाँकी ३४ वटा गुनासो सम्बन्धित शाखामा पठाइएको छ।

त्यसैगरी, विभागको आफ्नै कल सेन्टरमा प्राप्त १७७ वटा गुनासोमध्ये १५८ वटाको तत्काल समाधान गरिएको छ। बाँकी १९ वटा गुनासो अध्ययनको प्रक्रियामा रहेका छन्।

विभागका अनुसार उजुरी सुनुवाइ, उद्धार, क्षतिपूर्ति, अनुसन्धान र गुनासो व्यवस्थापनलाई प्रभावकारी बनाउन शाखागत रूपमा नियमित अनुगमन र समन्वयलाई निरन्तरता दिइएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button