भारतीय पर्यटकले भरिभराउ पोखराका होटल, ९० प्रतिशत अकुपेन्सी

काठमाडौँ — पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटकको उल्लेख्य आगमनसँगै यहाँका होटल भरिभराउ भएका छन्। लेकसाइडका सडक, फेवाताल, तालबाराही मन्दिर र अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको चहलपहल बढेको व्यवसायीहरूले बताएका छन्।
होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीका अनुसार गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरूमा भारतीय पर्यटकको उपस्थिति उत्साहजनक छ। विशेषगरी फेवातालको तालबाराही मन्दिर, विन्ध्यवासिनी, मुक्तिनाथ, मनकामना, केदारेश्वर, पुग्दीको शिवमन्दिर तथा छोटो दूरीका पदयात्रा क्षेत्रमा भारतीय पर्यटकको चाप बढेको छ।
भारतमा बढ्दो गर्मीबाट राहत खोज्न तथा बिदाको सदुपयोग गर्न भारतीय नागरिकले नेपाललाई सहज र आकर्षक गन्तव्यका रूपमा रोज्न थालेको सुवेदीले बताए। उनका अनुसार पर्यटकको आगमन बढेसँगै डुङ्गा सयर, पदयात्रा, प्याराग्लाइडिङ, बन्जीजम्पिङ, र्याफ्टिङलगायत गतिविधि पनि बढेका छन्।
फेवा डुङ्गा व्यवसायी संगठनका सहसचिव धनबहादुर विकका अनुसार फेवातालमा दैनिक चारदेखि पाँच हजार भारतीय पर्यटकले डुङ्गा सयर गर्ने गरेका छन्। पछिल्लो डेढ महिनादेखि भारतीय पर्यटकको उल्लेख्य उपस्थिति रहेको र फेवातालको मध्यभागमा रहेको तालबाराही मन्दिर दर्शन गर्न जानेहरूको संख्या बढेको उनले बताए।
“पहिले दिनभर ताल छेउमा डुङ्गा कुरेर बेलुका रित्तो हात फर्कनुपर्ने अवस्था थियो, तर भारतीय पर्यटक बढेसँगै त्यो समस्या हटेको छ,” विकले भने। उनका अनुसार अहिले बाराही घाटबाट मात्र दैनिक १४० डुङ्गा सञ्चालनमा छन्।
ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान० गण्डकीका कोषाध्यक्ष दीपक सापकोटाका अनुसार पछिल्लो डेढ महिनामा मात्रै करिब डेढ लाख भारतीय पर्यटक पोखरा आएका छन्। उनीहरू धार्मिकस्थल भ्रमण, छोटो दूरीका पदयात्रा, प्याराग्लाइडिङ, बन्जीजम्पिङ, डुङ्गा सयर तथा र्याफ्टिङमा सहभागी भइरहेका छन्।
भारतीय पर्यटकका कारण पाँचतारे होटलदेखि साना होटल र धर्मशालासम्म व्यस्त रहेको व्यवसायीहरू बताउँछन्। पोखराका होटलहरूमा अहिले करिब ९० प्रतिशत अकुपेन्सी पुगेको होटल व्यवसायीहरूको भनाइ छ।
होटल व्यवसायी पार्वती पाण्डेका अनुसार भारतीय पर्यटकले कोठाको भाडाभन्दा खानामा बढी बार्गेनिङ गर्ने गरेका छन्। भारतमा होटलका कोठा महँगा हुने भएकाले उनीहरू पोखरामा कोठाको मूल्यमा धेरै मोलमोलाइ नगर्ने उनको भनाइ छ।
“पोखराको पर्यटन अहिले भारतीय पर्यटकले धानेको छ,” पाण्डेले भनिन्, “नेपालका पर्यटकीय र धार्मिक गन्तव्यबारे भारतमा अझ प्रभावकारी प्रचारप्रसार गर्न सकियो भने भारतीय पर्यटकको आगमन अझ बढ्न सक्छ।”
पर्यटन व्यवसायीले सामान्यतया यो मौसमलाई ‘अफसिजन’का रूपमा लिने गरेका भए पनि भारतीय पर्यटकको उल्लेख्य आगमनले व्यवसायीहरू उत्साहित भएका छन्। नेपाली नयाँ वर्षयता सुरु भएको पर्यटक आगमनको लहर जेठ अन्त्यसम्म पनि निरन्तर रहेको व्यवसायीहरू बताउँछन्।
पोखरामा एकैदिन १० हजारसम्म पर्यटक धान्न सक्ने होटल क्षमता रहेको व्यवसायीहरूको भनाइ छ। उनीहरूका अनुसार भारतीय पर्यटकको आगमनले पोखराको होटल, रेस्टुरेन्ट, डुङ्गा व्यवसाय, पदयात्रा, साहसिक पर्यटन र धार्मिक पर्यटन सबै क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ।
व्यवसायीहरूले नेपाल आउने पाहुनालाई सम्मानपूर्वक स्वागत गर्नु सबैको दायित्व भएको बताएका छन्। उनीहरूका अनुसार भारतीय पर्यटकको बढ्दो आगमनलाई दीर्घकालीन पर्यटन अवसरका रूपमा उपयोग गर्न प्रचारप्रसार, सेवा सुधार, स्वच्छता, यातायात सुविधा र धार्मिक–पर्यटकीय पूर्वाधारमा थप ध्यान दिनुपर्ने आवश्यकता छ।





