अशोक राईले नयाँ दल दर्ता प्रक्रिया अघि बढाए

काठमाडौँ — जनता समाजवादी पार्टी (जसपा) विभाजनले कानुनी मान्यता नपाएपछि नेता अशोक कुमार राईले नयाँ दल दर्ता प्रक्रिया अघि बढाएका छन्।
राई नेतृत्वको समूहले सोमबार निर्वाचन आयोग पुगेर ‘समाजवादी पार्टी’ नामक नयाँ दल दर्ताका लागि औपचारिक निवेदन दिएको हो।
प्रस्तावित नयाँ पार्टीको अध्यक्षमा अशोक कुमार राई आफैं रहेका छन्। उपाध्यक्षहरूमा सुशीला श्रेष्ठ, राधादेवी तिमिल्सिना र दानबहादुर विश्वकर्मा चयन भएका छन्।
त्यस्तै, उपमहासचिवमा शरणकुमार राई रहेका छन् भने सचिवहरूमा हेमन्तराज मान्डव्य, मनिकर कार्की र भीमबहादुर तामाङ प्रस्तावित छन्।
राईले ८ जना पदाधिकारीसहित कुल २८ सदस्यीय केन्द्रीय समितिको नामावली निर्वाचन आयोगमा बुझाएका छन्।
यसअघि राई नेतृत्वको समूहले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालबाट अलग भई ‘जनता समाजवादी पार्टी’ गठन गरेको थियो। तर, यादवले पार्टी विभाजन गैरकानुनी भएको दाबी गर्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।
सर्वोच्च अदालतले अशोक राई नेतृत्वको जसपालाई कानुनी मान्यता नदिएपछि राई समूह दलविहीन अवस्थामा पुगेको थियो। अदालतको फैसलापछि उत्पन्न कानुनी संकट समाधानका लागि राई पक्षले नयाँ पार्टी दर्ताको बाटो रोजेको हो।
पार्टी दर्ताका लागि निवेदन दिएपछि अध्यक्ष राईले आफूहरू राजनीतिक र सांगठनिक रूपमा निरन्तर सक्रिय रहेको बताए। उनले सर्वोच्चको फैसलाले कानुनी अस्तित्वमा संकट ल्याएपछि नयाँ दल दर्ता गर्नुपरेको स्पष्ट पारे।
नवगठित पार्टीका सचिव मनिकर कार्कीका अनुसार ‘समाजवादी पार्टी’ ले नेपाली विशेषता अनुरूपको समाजवादलाई मुख्य राजनीतिक ध्येय बनाउनेछ।
उनका अनुसार पार्टीले समावेशी लोकतन्त्र, सामाजिक न्यायसहितको संघीयता, समृद्धि र सुशासनलाई आफ्नो प्रमुख कार्यदिशा बनाउनेछ।
निर्वाचन आयोगबाट आधिकारिक मान्यता पाएलगत्तै देशभर संगठन निर्माण र पार्टी विस्तार अभियान सञ्चालन गरिने कार्कीले जानकारी दिए।





