रास्वपा महाधिवेशन : प्रस्तावक र समर्थक आफैँ उम्मेदवार बन्न नपाउने

चितवन — चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिलो राष्ट्रिय महाधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाका लागि नयाँ नियम सार्वजनिक गरिएको छ।
रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीद्वारा जारी सूचनाअनुसार निर्वाचनमा कुनै पनि उम्मेदवारको प्रस्तावक र समर्थक बनेका प्रतिनिधि आफैँ उम्मेदवार बन्न पाउने छैनन्।
आयोगले उक्त नियम विपरीत मनोनयन फारम दर्ता गरिए उम्मेदवारी स्वतः अमान्य हुने स्पष्ट पारेको छ।

निर्वाचन आयोगले विभिन्न पदका लागि प्रस्तावक र समर्थकको संख्या पनि तोकेको छ। सभापति पदमा उम्मेदवारी दिन १ जना प्रस्तावक र ५१ जना समर्थक अनिवार्य गरिएको छ।
त्यस्तै, केन्द्रीय सदस्य पदका उम्मेदवारका लागि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक पर्ने आयोगले जनाएको छ।
उम्मेदवारी दर्ताका क्रममा प्रस्तावक र समर्थकहरूको नाम, सम्पर्क नम्बर र हस्ताक्षर अनिवार्य रूपमा बुझाउनुपर्नेछ।
रास्वपाको पहिलो महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया अघि बढ्दै गर्दा आयोगले उम्मेदवारी दर्ता, प्रस्तावक र समर्थकसम्बन्धी नियम कडाइका साथ लागू गर्ने जनाएको छ।





