सल्यानमा सुशासनको विषयलाई लिएर सांसद रमेश मल्लको गम्भीर ध्यानाकर्षण

काठमाडौँ — सल्यानबाट निर्वाचित सांसद रमेश मल्लले जिल्लामा सेवा प्रवाह, वन संरक्षण, अवैध उत्खनन र निर्माण क्षेत्रमा देखिएका समस्याप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
सांसद मल्लले एक विज्ञप्ति जारी गर्दै सल्यानमा सेवा प्रवाहमा सुशासन कायम गर्न, वन क्षेत्रको संरक्षणमा देखिएका समस्या समाधान गर्न, नदीजन्य सामग्रीको अवैध उत्खनन रोक्न तथा निर्माण क्षेत्रमा देखिएका ढिलासुस्ती र गुणस्तरहीन कार्यप्रति आम नागरिक, युवा अभियन्ता र जनप्रतिनिधिहरूमार्फत निरन्तर प्रश्न उठाउने, सचेत गराउने र खबरदारी गर्ने कार्य हुँदै आएको उल्लेख गरेका छन्।
तर, केही दिनयता विकसित घटनाक्रमप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद मल्लले सरकारले सुशासनलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिरहेको अवस्थामा जिल्लामा राज्यका जिम्मेवार निकायसँग स्वार्थको द्वन्द्व उत्पन्न हुने प्रकृतिका केही विषय र घटनाक्रम सार्वजनिक हुनु झन् बढी संवेदनशील विषय बनेको बताएका छन्।
उनले यस सन्दर्भमा समग्र घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न नेपाल सरकारका सम्बन्धित निकायहरूको गम्भीर ध्यानाकर्षण गराएका छन्।





