९ असार २०८३, मंगलवार

धनगढी उपमहानगरले थारू र रानाथारू समुदायको परम्परागत प्रथा संरक्षणका लागि दुई विधेयक सर्वसम्मत पारित

धनगढी — धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ तथा ‘रानाथारू समुदायको पधना र भलमन्सा प्रथा संरक्षण तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ सर्वसम्मत रूपमा स्वीकृत गरेको छ।

उपमहानगरपालिकाको १५औँ नगरसभाले थारू तथा रानाथारू समुदायका परम्परागत सामाजिक संस्थाको संरक्षण, संवर्द्धन तथा विकासका लागि उक्त विधेयक सर्वसम्मत रूपमा स्वीकृत गरेको हो। आइतबार सम्पन्न नगर सभामा पेस गरिएका दुवै विधेयक स्वीकृत भएसँगै थारू तथा रानाथारू समुदायमा परम्परादेखि अभ्यास हुँदै आएका भलमन्सा र पधना प्रथाको संरक्षण, अभिलेखीकरण, संवर्द्धन तथा विकासका लागि स्थानीय तहमा कानुनी आधार तयार भएको छ।

उपमहानगरपालिकाकी नगर उपप्रमुख कन्दकला रानाका अनुसार ती दुई समुदायमा परम्परादेखि प्रचलित भलमन्सा तथा पधना प्रणाली सामुदायिक सङ्गठन, सामाजिक सद्भाव, न्याय सम्पादन, विकास निर्माण, सांस्कृतिक संरक्षण तथा समाज सञ्चालनको महत्त्वपूर्ण परम्परागत संस्थागत अभ्यासका रूपमा रहँदै आएको छ। उपमहानगरपालिकाले यस्ता परम्परागत सामाजिक संस्थाको संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय शासन प्रणालीसँग समन्वयात्मक रूपमा सञ्चालन गर्ने उद्देश्यले विधेयक ल्याएको जनाएको छ।

विधेयकमा भलमन्सा तथा पधना प्रणालीको अभिलेखीकरण, संरक्षण, संवर्द्धन, विकास तथा अभ्यासलाई प्रोत्साहन गर्ने व्यवस्था गरिएको उपप्रमुख रानाले जानकारी दिइन्। विधेयकले नेपालको संविधानले सुनिश्चित गरेको आदिवासी जनजातिका सांस्कृतिक अधिकार, परम्परागत ज्ञान, सीप, अभ्यास तथा संस्थागत संरचनाको संरक्षण र प्रवर्द्धन गर्ने राज्यको दायित्व कार्यान्वयनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

उपमहानगरपालिकाले नयाँ कानुनमार्फत ती समुदायको सांस्कृतिक विरासतलाई जोगाउनुका साथै परम्परागत सामाजिक संस्थालाई स्थानीय शासन र विकास प्रक्रियासँग जोडेर थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरेको छ।

यसैबीच, समाजमा केही मानिसहरूको भनाइ अनुसार, पूर्व प्रशासक हेमन्त मल्लले लामो समयदेखि भलमन्सालाई प्रमुख पात्र बनाएर साहित्यिक यात्रा सुरु गरी बड्का भलमन्साको प्रवर्द्धन गरिरहेका छन्। उनकै प्रभावले धनगढी उपमहानगरपालिका उक्त दुई विधेयक सर्वसम्मत रूपमा स्वीकृत गर्न प्रेरित भएको पनि चर्चा रहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button