९ असार २०८३, मंगलवार

एमाले सचिव बस्नेतको माग: बालेन र सुदनको सम्पत्ति पनि उत्तिकै गम्भीरताका साथ छानबिन हुनुपर्छ

काठमाडौँ – नेकपा एमालेका सचिव महेश बस्नेतले सार्वजनिक जीवनमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिनमा समान मापदण्ड अपनाउनुपर्ने माग गरेका छन्। उनले ३५ वर्ष सार्वजनिक जीवन र राजनीतिमा बिताएका विष्णु पौडेलको सम्पत्ति छानबिन हुन सक्छ भने ३५–३६ वर्षको उमेरमै उल्लेख्य सम्पत्ति आर्जन गरेका बालेन्द्र साह (बालेन) र सुदन गुरुङ लगायतको सम्पत्तिबारे पनि उस्तै गम्भीरता र पारदर्शिताका साथ छानबिन हुनुपर्ने बताएका छन्।

बस्नेतले जोड दिए कि छानबिनको मापदण्ड व्यक्ति, पार्टी वा राजनीतिक निकटताका आधारमा फरक हुनु हुँदैन। “जनताले कसैलाई दोषी वा निर्दोष घोषणा गरिदिन भनेका होइनन्, सत्य सार्वजनिक होस् भनेका हुन्,” उनले भने। उनले विष्णु पौडेलसँगै बालेन, सुदन गुरुङ लगायत सबैको सम्पत्ति, आर्जनको स्रोत र त्यससम्बन्धी छानबिन प्रतिवेदनहरू जनतासामु ल्याइनुपर्ने माग गरे।

सचिव बस्नेतले पूर्व न्यायाधीश राजेन्द्रप्रसाद भण्डारीको अध्यक्षतामा गठन गरिएको सम्पत्ति छानबिन आयोगको प्रतिवेदनलाई लिएर पनि प्रश्न उठाए। “सुदन गुरुङलाई चोख्याएर, लुकाएर राख्ने र पुनः नियुक्ति दिने नाटक जनताले बुझेकै छन्,” उनले आरोप लगाए।

बस्नेतले निष्पक्ष छानबिन र पूर्ण पारदर्शिताबाट मात्र सत्य स्थापित हुने र राज्यका निकायप्रति जनविश्वास कायम रहने बताउँदै यो विषय सबैको चासोको विषय भएको उल्लेख गरे।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button