पूर्वअर्थमन्त्री विष्णु पौडेल रातारात काठमाडौँ ल्याइए

काठमाडौँ – सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका पूर्वअर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई रातारात काठमाडौँ ल्याइएको छ।
पौडेल सोमबार अपराह्न सुर्खेतमा पार्टीको कार्यक्रम स्थलबाटै पक्राउ परेका थिए। पक्राउपछि उनलाई सुर्खेतबाट बाँकेको कोहलपुरसम्म प्रहरीको गाडीमा ल्याइएको थियो। केही समय विश्रामपछि उनलाई रातारात अर्को गाडीमा काठमाडौँ ल्याइएको हो।
नेपाल प्रहरीका सहायक प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर जबराले पौडेललाई रातारात काठमाडौँ ल्याइएको पुष्टि गरेका छन्। उनलाई सार्वजनिक बसमा ल्याइएको भन्ने विषय पनि सार्वजनिक भएको छ। तथापि, सहायक प्रवक्ता जबराले सार्वजनिक बसमा काठमाडौँ ल्याइएको विषयमा आफूलाई जानकारी नभएको बताए।
यता, सुर्खेत प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कविन्द्र सिंह बोहराले पौडेललाई सार्वजनिक बसमा नभई निजी गाडीमा काठमाडौँ पठाइएको जानकारी दिए। “सार्वजनिक बसमा होइन, निजी गाडीमा हो काठमाडौँ पठाइएको,” उनले भने।
पौडेललाई पक्राउ गर्नुअघि सम्पत्ति शुद्धीकरण विभागले ललितपुरस्थित उनको निवासमा छापा समेत मारेको थियो। पौडेल विवादास्पद व्यापारी दीपक भट्टसँग जोडिएको पाइएपछि पक्राउ परेको बुझिएको छ। सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ परेका भट्ट पूर्पक्षका लागि थुनामा रहेका छन्।





