९ असार २०८३, मंगलवार

रास्वपा महाधिवेशन: ३,८४९ प्रतिनिधि कायम, बन्दसत्र थप ढिलाइ

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि तीन हजार ८४९ प्रतिनिधि कायम भएका छन्। केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीका अनुसार सार्वजनिक भएको प्रतिनिधिको नामावलीमाथि परेको उजुरी छानबिनपछि प्रतिनिधिको उक्त सङ्ख्या निर्धारण गरिएको हो।

बन्दसत्र सुरु हुने समय फेरि सर्यो

हिजो सोमबार बिहान ८:३० बजेदेखि सुरु हुने भनिएको रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्रको समय लम्बिने क्रम जारी छ। हिजोबाट सरेर आज दिउँसो १ बजेदेखि सुरु हुने भनिए पनि आज दिउँसो २ बजेअघि सुरु हुने अवस्था नरहेको पार्टीका एक नेताले जानकारी दिएका छन्। प्राविधिक कारणले एक दिन ढिलाइ भएको भन्दै अब २ बजेपछि मात्र बन्दसत्र सुरु हुने रास्वपा चितवनका सभापति मिनीमाधव खनालले जानकारी दिए।

केहीबेरअघिदेखि महाधिवेशन परिचयपत्र वितरण कार्य सुरु भएको छ। प्रदेशबाट प्राप्त महाधिवेशन प्रतिनिधिहरूको नामावली रुजु गर्ने र प्रतिनिधि कार्ड छपाइ गर्ने काममा बढी समय लागेकाले बन्दसत्र पछि सरेको बताइएको छ। कार्ड वितरणपछि भने पूर्ववत् तालिका अनुसार नै बन्दसत्र सञ्चालन गरिने जनाइएको छ।

बन्दसत्रको कार्यतालिका

रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीका अनुसार बन्दसत्रको सुरुमा अनुशासन आयोगका तर्फबाट रमाकान्त रिमालले आयोगको प्रतिवेदन प्रस्तुत गर्नेछन्, जसमाथि छलफल हुनेछ। त्यसपछि कोषाध्यक्ष लिमा अधिकारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिकामा उल्लेख छ।

त्यसैगरी, पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यले विधानमाथिको संशोधन प्रस्ताव, महामन्त्री बुर्लाकोटीले सङ्गठनात्मक प्रतिवेदन र उपसभापति डा. स्वर्णिम वाग्लेले पार्टीको अर्थ तथा राजनीतिक प्रस्ताव अलगअलग रूपमा प्रस्तुत गर्नेछन्।

बन्दसत्रका क्रममा पार्टीका पदाधिकारीहरूबाट प्रस्तुत हुने उल्लिखित प्रस्तावहरू पारित भएपछि पार्टी सभापति रवि लामिछानेले पेस गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने रास्वपाले जनाएको छ।

यसैबीच, पार्टी सभापति लामिछानेले अन्तरिम व्यवस्थापन समिति गठनको घोषणासहित आयोजक समितिको सम्पूर्ण जिम्मेवारी निर्वाचन आयोगलाई दिने प्रस्ताव गर्नेछन्। त्यसपछि आयोगले निर्वाचन प्रक्रियासम्बन्धी जानकारी र तालिका प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

आइतबार दिउँसो भरतपुरस्थित गेस्टहाउस चौरमा उद्घाटन भएको महाधिवेशनको बन्दसत्र उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा सञ्चालन भइरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button