भारतीय राजदूतको लिपुलेक भ्रमण, नेपालको कूटनीतिक आपत्तिमाथि भारतको अवज्ञा

काठमाडौँ, – लिपुलेक नाका नेपाली भूभाग भएको दाबीसहित नेपालले कूटनीतिक नोटमार्फत विरोध जनाइरहेका बेला चीनका लागि भारतीय राजदूत विक्रम दोराईस्वामीले उक्त नाकाको स्थलगत भ्रमण गरेका छन्। नेपालको आपत्तिलाई बेवास्ता गर्दै भारतीय राजदूतले कैलाश–मानसरोवर यात्रा मार्गको निरीक्षण गर्नुले सीमा विवाद झन् पेचिलो बनेको छ।
बेइजिङबाट तिब्बत हुँदै कैलाश–मानसरोवर क्षेत्र पुगेका राजदूत दोराईस्वामीले कैलाश पर्वतको परिक्रमा गरेपछि सामाजिक सञ्जाल एक्समार्फत भिडियो सन्देश सार्वजनिक गरेका थिए। उनले आगामी महिनादेखि सञ्चालन हुने कैलाश–मानसरोवर यात्राको तयारी, व्यवस्थापन तथा पूर्वाधार अवस्था बुझ्न लिपुलेक र नाथुला दुवै नाकाको निरीक्षण गरेको जानकारी दिए।
भारत–चीन सहमतिअनुसार यस वर्ष लिपुलेक र नाथुला नाकाबाट १०–१० वटा भारतीय तीर्थालु टोली कैलाश–मानसरोवर यात्रामा जाने कार्यक्रम छ। प्रत्येक टोलीमा ५० जना सहभागी हुनेछन्। ताक्लाकोट र याडोङलगायत क्षेत्रको भ्रमणका क्रममा राजदूतले स्थानीय चिनियाँ अधिकारीसँगको समन्वयमा यात्रुका लागि आवास, स्वास्थ्य सेवा, सुरक्षा र पूर्वाधारको अवस्थाबारे जानकारी लिएको भारतीय स्रोतले दाबी गरेको छ। करिब पाँच मिनेट लामो भिडियो सन्देशमा उनले तीर्थयात्रीलाई उच्च हिमाली क्षेत्रमा स्वास्थ्य व्यवस्थापन र आवश्यक सावधानीबारे सुझाव दिएका छन्।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले चीन भ्रमणका क्रममा लिपुलेक विषय उठाए पनि नयाँ दिल्ली भ्रमणमा भने यसबारे मौन रहेको बताइन्छ। भारतीय राजदूतको यो भ्रमणलाई नेपालको संवेदनशीलताप्रति भारतको उपेक्षाका रूपमा अर्थ लगाइएको छ।
पहिलो टोली जुलाई ६ मा
यसैबीच, लिपुलेक हुँदै कैलाश–मानसरोवर जाने पहिलो भारतीय टोली आगामी जुलाई ६ मा उत्तराखण्डको धारचुला पुग्ने तालिका सार्वजनिक भएको छ। उत्तराखण्ड सरकारको कुमाउँ मण्डल विकास निगमले यात्रा व्यवस्थापन गरिरहेको छ भने भारत–तिब्बत सीमा प्रहरी (आईटीबीपी) ले सुरक्षाको जिम्मेवारी सम्हालेको छ।
केही दिनअघि आईटीबीपीका उच्च अधिकारीले लिपुलेक, कालापानी र आसपासको निरीक्षण गरेका थिए। सो क्रममा भारतीय सेनाको हेलिकोप्टर नेपाली आकाशमा देखिएको भन्दै व्यास क्षेत्रबाट सुरक्षा निकायमा रिपोर्ट गरिएको भए पनि त्यस विषयमा हालसम्म कुनै प्रगति भएको छैन।





