१० असार २०८३, बुधबार

नौबस्ता क्षेत्रीय कारागारमा कैदीबन्दीबीच झडप, सात घाइते

बाँके — मंगलबार बिहान करिब पौने ६ बजे कारागारको बी–ब्लकमा रहेका कैदीबन्दीबीच झडप भएको प्रहरीले जनाएको छ।

प्रारम्भिक जानकारीअनुसार कारागारभित्रको आन्तरिक प्रशासन व्यवस्थापनका लागि चयन गरिने नाइके र चौकीदारको विषयलाई लिएर कैदीबन्दीबीच तनाव बढेको थियो। सोही विषयमा देखिएको असन्तुष्टि र आन्तरिक शक्ति संघर्षका कारण झडप भएको हुनसक्ने सुरक्षा अधिकारीहरूको प्रारम्भिक अनुमान छ।

झडपमा नाइके धर्मराज बुढासहित सात जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनालाई उपचारका लागि भेरी अस्पताल लगिएको थियो भने चार जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको थियो। बाँके प्रहरीका अनुसार घाइतेहरू उपचारपछि कारागार फर्किसकेका छन्।

बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले अहिले कारागारको सुरक्षा अवस्था सामान्य रहेको जानकारी दिए। उनका अनुसार झडपपछि सम्भावित थप तनाव रोक्न कारागार प्रशासन र सुरक्षा निकायले आवश्यक सतर्कता अपनाएका छन्।

घटनापछि कारागारबाट ४० जना कैदीबन्दीलाई अन्यत्र सारिएको छ। उनीहरूलाई सुरक्षा संवेदनशीलता र कारागारभित्रको अवस्थालाई ध्यानमा राखेर स्थानान्तरण गरिएको जनाइएको छ।

नौबस्ता क्षेत्रीय कारागारको बी–ब्लकमा केही दिनअघि पनि कैदीबन्दीबीच झडप भएको थियो। कारागारभित्र नाइके र चौकीदारजस्ता आन्तरिक प्रशासनिक भूमिकामा आफ्ना व्यक्ति पुर्‍याउने प्रयासका कारण पटक–पटक तनाव देखिने गरेको बताइएको छ।

कारागारभित्र नाइके र चौकीदारले कैदीबन्दीबीच अनुशासन, दैनिक व्यवस्थापन र प्रशासनसँगको समन्वयमा भूमिका खेल्ने भएकाले ती पदलाई प्रभावशाली मानिन्छ। यही कारण नियुक्ति प्रक्रिया नजिकिँदै गर्दा विभिन्न समूहबीच प्रतिस्पर्धा र असन्तुष्टि बढ्ने गरेको कारागार स्रोतहरूको भनाइ छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। कारागार प्रशासनले भने झडप दोहोरिन नदिन आन्तरिक निगरानी, सुरक्षा व्यवस्थापन र संवेदनशील कैदीबन्दीको व्यवस्थापनमा थप सावधानी अपनाइएको बताएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button