१० असार २०८३, बुधबार

रास्वपा सभापतिमा रवि लामिछाने पुनः निर्विरोध, दोस्रो कार्यकालका लागि नेतृत्व सुनिश्चित

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिमा रवि लामिछाने पुनः निर्विरोध निर्वाचित भएका छन्। चितवनमा जारी पार्टीको पहिलो महाधिवेशनबाट लामिछाने दोस्रो कार्यकालका लागि सभापतिमा चयन भएका हुन्।

सभापति पदका लागि लामिछानेबाहेक अरू कसैको मनोनयन नपरेपछि उनी निर्विरोध भएका हुन्। निर्वाचन समितिबाट औपचारिक घोषणा हुन भने बाँकी छ।

असार ७ गतेदेखि चितवनको भरतपुरमा जारी रास्वपाको पहिलो महाधिवेशनले पार्टीको आगामी नेतृत्व, राजनीतिक कार्यदिशा, संगठनात्मक संरचना र नीतिगत प्राथमिकताबारे निर्णय गर्ने तयारी गरिरहेको छ। महाधिवेशनको बन्दसत्रमा सभापति लामिछानेले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिसकेका छन्।

लामिछानेको सभापति पदको मनोनयनका लागि वरिष्ठ नेता बालेन शाह प्रस्तावक बसेका थिए। उनको निर्विरोध चयनलाई रास्वपाभित्र नेतृत्व निरन्तरताको संकेतका रूपमा हेरिएको छ।

२०७९ सालमा स्थापित रास्वपा छोटो समयमै राष्ट्रिय राजनीतिमा प्रभावशाली शक्तिका रूपमा उदाएको दल हो। पार्टीको पहिलो महाधिवेशन भएकाले यसलाई रास्वपाको संस्थागत विकास, वैचारिक स्पष्टता र नेतृत्व संरचना निर्माणका दृष्टिले महत्वपूर्ण मानिएको छ।

महाधिवेशनमा सभापति लामिछानेले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा संविधान संशोधन, प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, राष्ट्रियसभाको पुनर्संरचना, प्रदेशसभा र प्रदेश सरकारको पुनरवलोकन, विकास कूटनीति तथा नेपाललाई दक्षिण एसिया र हिमालय क्षेत्र जोड्ने “जीवन्त पुल”का रूपमा अघि बढाउने प्रस्ताव समावेश छन्।

रास्वपाले परम्परागत शक्ति केन्द्रित कूटनीतिभन्दा विकास कूटनीतिलाई परराष्ट्र नीतिको केन्द्रमा राख्ने धारणा पनि अघि सारेको छ। दुई छिमेकी भारत र चीनलाई अवसरका रूपमा उपयोग गर्दै नेपाललाई प्रतिस्पर्धी प्रभाव क्षेत्रको निष्क्रिय मैदान नभई आर्थिक, सांस्कृतिक, व्यापारिक र मानवीय सम्पर्कको सक्रिय केन्द्रका रूपमा विकास गर्ने पार्टीको दृष्टिकोण प्रतिवेदनमा उल्लेख छ।

सभापतिमा लामिछानेको पुनः निर्विरोध चयनसँगै अब रास्वपाको ध्यान अन्य पदाधिकारी, केन्द्रीय संरचना, राजनीतिक प्रस्ताव र आगामी कार्ययोजनातर्फ केन्द्रित हुने देखिएको छ। महाधिवेशनले पार्टीलाई संगठनात्मक रूपमा कसरी संस्थागत गर्छ र लामिछाने नेतृत्वको दोस्रो कार्यकालले पार्टीलाई कस्तो दिशामा अघि बढाउँछ भन्ने विषयलाई राजनीतिक वृत्तले चासोका साथ हेरेको छ।

निर्वाचन समितिबाट औपचारिक घोषणा भएपछि लामिछानेको दोस्रो कार्यकाल विधिवत् रूपमा सुरु हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button