१० असार २०८३, बुधबार

रास्वपा नेतृत्वमा शाह सचिवालयका तीन अनुहार

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिका लागि प्रधानमन्त्री तथा पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको सचिवालयमा कार्यरत तीन जनाले उम्मेदवारी दिएका छन्।

प्रधानमन्त्री कार्यालयका प्रेस सहजकर्ता सुरेन्द्र बजगाईंका अनुसार प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार अशिम शाह, नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकाल र स्वकीय उपसचिव प्रकृति ढकालले रास्वपाको केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेका हुन्।

अशिम शाहले खुला मुस्लिम समावेशी समूहबाट उम्मेदवारी दिएका छन्। उनी प्रधानमन्त्री शाहका निकट राजनीतिक सहयात्रीका रूपमा चिनिन्छन्। तत्कालीन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह र रास्वपाबीच राजनीतिक सहकार्य तथा एकीकरणको वातावरण निर्माणमा उनको भूमिका रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

शाहले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा सांसद पदबाट राजीनामा दिएका थिए। वैकल्पिक राजनीतिक शक्तिहरूबीच सहकार्य आवश्यक रहेको धारणा राख्दै उनले शाह पक्ष र रास्वपाबीच संवाद अघि बढाउन भूमिका खेलेको सचिवालयको भनाइ छ।

त्यसैगरी प्रधानमन्त्री शाहका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले खुलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन्। ढकाल पार्टी समायोजन, सुशासनसम्बन्धी अभियान र प्रशासनिक सुधारका विषयमा सक्रिय रहँदै आएको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

ढकाल यसअघि काठमाडौं महानगरपालिकामा पनि सूचना प्रविधि तथा सुशासनसम्बन्धी सल्लाहकारका रूपमा शाहसँग कार्यरत थिए। महानगरमा सूचना प्रणाली विकास, डिजिटल प्रशासन र तथ्यांकमा आधारित निर्णय प्रक्रियालाई संस्थागत गर्ने कार्यमा उनको भूमिका रहेको बताइएको छ।

प्रधानमन्त्रीका स्वकीय उपसचिव प्रकृति ढकालले खुला महिलातर्फबाट केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गरेकी छन्। सार्वजनिक स्वास्थ्य, सामाजिक सुरक्षा, नीति अनुसन्धान, युवा नेतृत्व विकास तथा गैरनाफामूलक संस्थाको व्यवस्थापनमा उनी संलग्न रहँदै आएको सचिवालयले जनाएको छ।

प्रकृति ढकालले बेलायतको लन्डन स्कुल अफ इकोनोमिक्स एन्ड पोलिटिकल साइन्सबाट विश्व स्वास्थ्य नीति विषयमा स्नातकोत्तर अध्ययन पूरा गरेको बताइएको छ। पछिल्लो समय उनी सार्वजनिक नीति, रणनीतिक योजना र अन्तरमन्त्रालय समन्वयसम्बन्धी कार्यमा संलग्न छिन्।

रास्वपाको पहिलो महाधिवेशन चितवनमा जारी छ। महाधिवेशनबाट पार्टीको केन्द्रीय नेतृत्व, संगठनात्मक संरचना र आगामी राजनीतिक कार्यदिशा तय हुने अपेक्षा गरिएको छ। सभापति पदमा रवि लामिछानेको मात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका छन्। पार्टी निर्वाचन समितिबाट औपचारिक घोषणा भएपछि नेतृत्व चयन प्रक्रिया विधिवत् रूपमा अघि बढ्नेछ।

प्रधानमन्त्री शाहको सचिवालयमा कार्यरत तीन जनाको उम्मेदवारीले रास्वपाको नयाँ केन्द्रीय संरचनामा शाह निकट समूहको उपस्थिति बढ्न सक्ने संकेत गरेको छ। यद्यपि केन्द्रीय समितिको अन्तिम स्वरूप निर्वाचन प्रक्रिया पूरा भएपछि मात्र स्पष्ट हुनेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button