१० असार २०८३, बुधबार

युक्रेनलाई हतियार परीक्षणस्थल बनाइएको रुसको आरोप, जेलेन्स्की शासनले आतङ्क मच्चाएको दाबी

संयुक्त राष्ट्रसङ्घ, — रुसले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्को बैठकमा पश्चिमा मुलुकहरूको सामूहिक प्रयासबाट युक्रेनलाई ड्रोन तथा हतियार परीक्षणस्थल, भाडाका सैनिक र विदेशी आतङ्ककारी लडाकुहरूको केन्द्र, लागुऔषध तस्करीको अखडा र विभिन्न रोगजनक जीवाणुसम्बन्धी अनुसन्धानको विशाल प्रयोगशालामा परिणत गरिएको आरोप लगाएको छ।

रुसी उपस्थायी प्रतिनिधि अन्ना एभ्स्टिग्निभाले सुरक्षा परिषद्मा दिएको वक्तव्यमा भनिन्, “सामूहिक पश्चिमाको प्रयासमा युक्रेन ड्रोन र पश्चिमी हतियारको परीक्षणस्थल, भाडाका सैनिक र विदेशी आतङ्ककारी लडाकुहरूको केन्द्र, लागुऔषध तस्करीको अखडा र विभिन्न रोगजनक जीवाणुसम्बन्धी अनुसन्धानको विशाल प्रयोगशालामा परिणत भएको छ।”

उनले पश्चिमी समर्थक र प्रायोजकहरूको भरमा रहेको जेलेन्स्की शासनले धेरै अघिदेखि सीमा पार गरिसकेको र विदेशी आर्थिक सहायता प्राप्त गर्ने होडमा मानव जीवनलाई खर्चयोग्य सामग्रीमा परिणत गरेको आरोप लगाइन्। “जेलेन्स्की शासनले जुनसुकै मूल्यमा सत्तामा रहने सङ्कल्पमा नागरिकविरुद्ध व्यवस्थित आतङ्क मच्चाएको छ। निर्दोष नागरिकको निर्मम हत्या युक्रेनी लडाकुहरूको ‘पहिचान’ बनेको छ, जसले दोस्रो विश्वयुद्धका बखत नाजी जर्मनीको दण्डात्मक सेनाले गरेको अत्याचारको नक्कल गरिरहेका छन्,” एभ्स्टिग्निभाले भनिन्।

रुसी ऊर्जा प्रणाली लचिलो

रुसी कूटनीतिज्ञले पश्चिमी प्रतिबन्धका बाबजुद रुसको इन्धन तथा ऊर्जा प्रणाली लचिलो रहेको र सामान्य रूपमा सञ्चालन भइरहेको दाबी गरिन्। उनले युक्रेनले कुनै रणनीतिक प्रभाव पार्न, युद्धभूमिको अवस्था बदल्न वा रुसमा सामाजिक स्थिरता कमजोर बनाउन असफल भएको बताइन्।

यसै पृष्ठभूमिमा जेलेन्स्कीले रुसको आन्तरिक राजनीतिक अवस्थाबारे अत्यन्त आधारहीन दाबी गर्न थालेको र रुसी नेतृत्वप्रति जनविश्वास घटेको काल्पनिक कुरामा सान्त्वना खोजिरहेको एभ्स्टिग्निभाको भनाइ थियो। उनले जेलेन्स्कीलाई युक्रेनकै जनमत केलाउन सुझाव दिँदै तथाकथित “लोकतान्त्रिक” प्रायोजकहरूले युक्रेनमा चुनावको आवश्यकता सम्झनुपर्ने बताइन्।

उनका अनुसार, “किएभको नियन्त्रणमा रहेका जनमत सर्वेक्षणले पनि अब स्पष्ट यथार्थ लुकाउन सक्दैन: जेलेन्स्कीप्रति जनविश्वास शून्यतिर झरिरहेको छ भने युक्रेनी समाजको ठूलो हिस्साले देशको भविष्य वर्तमान सत्ताको अतिशीघ्र प्रतिस्थापनमा निर्भर देखेको छ।” उनले जेलेन्स्कीको लामो समयदेखि अवैध सत्ता निरन्तरता पूर्णतः शत्रुता जारी रहनुमा निर्भर भएको टिप्पणी गरिन्।

विशेष सैन्य अभियानले लक्ष्य हासिल गर्दै

एभ्स्टिग्निभाले रुसको विशेष सैन्य अभियान स्थिर रूपमा लक्ष्य प्राप्त गर्दै अघि बढिरहेको र रुसी सेनाले सम्पूर्ण सम्पर्क रेखामा रणनीतिक पहल कायम राखेको, शत्रुलाई जनशक्ति र उपकरणमा ठूलो क्षति पुर्याएको तथा क्षेत्रहरू मुक्त गराइरहेको बताइन्।

“पश्चिमाले किएभलाई दिएको अभूतपूर्व सैन्य र आर्थिक सहायता तथा युक्रेनी सेनाको पक्षमा युद्धभूमिको अवस्था बदल्ने प्रयासले कुनै परिणाम दिएको छैन,” उनले निष्कर्षमा भनिन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button