१० असार २०८३, बुधबार

हिल्सा जाँदै गरेको जीप पाम्लाथुङमा दुर्घटना, चालकसहित चार घाइते

हुम्ला — हुम्लाको सिमकोट गाउँपालिका–७, पाम्लाथुङमा बुधबार बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन्।

पाम्लाथुङबाट हिल्सातर्फ जाँदै गरेको जीप दुर्घटनामा सुर्खेतको बराहताल गाउँपालिका–७ का २८ वर्षीय चालक रमेश सिजापति, सिमकोट गाउँपालिका–७ का २८ वर्षीय गंगबहादुर शाही, सोही वडाकी ५५ वर्षीया गगीसरा शाही र ४० वर्षीय गोकुल शाही घाइते भएका हुन्।

प्रहरी निरीक्षक जंगबहादुर सिंहका अनुसार प्रारम्भिक जानकारीमा जीपको ब्रेक फेल भएपछि दुर्घटना भएको देखिएको छ। दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा घाइतेहरूको उद्धार भइरहेको छ।

घाइते चारै जनालाई उपचारका लागि जिल्ला अस्पताल सिमकोट ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उनीहरूको शरीरका विभिन्न भागमा चोट लागेको बताइएको छ। घाइतेमध्ये तीन जना यात्रु ताक्लाकोटमा काम गर्न जान लागेको प्रारम्भिक विवरणमा उल्लेख छ।

दुर्घटनाको विस्तृत कारण, जीपको अवस्था र घाइतेहरूको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button