१० असार २०८३, बुधबार

चिनियाँ उपप्रधानमन्त्री हे लिफेङको भनाइ : औद्योगिक नवप्रवर्तन प्रणाली सुधार गर्न र विदेशी व्यापारको संरचना सुधार्न तीव्रता दिइने

बेइजिङ — चिनियाँ उपप्रधानमन्त्री हे लिफेङले औद्योगिक नवप्रवर्तन प्रणाली सुधार गर्न र विदेशी व्यापारको आकार स्थिर गर्न तथा संरचना सुधार गर्ने काममा तीव्रता दिन आग्रह गरेका छन्।

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोका सदस्यसमेत रहेका उपप्रधानमन्त्रीले जुन २१ देखि २३ सम्म मध्य चीनको हेनान प्रान्तको निरीक्षण भ्रमणका क्रममा यस्तो धारणा व्यक्त गरेका हुन्।

उनले विज्ञान–प्रविधि नवप्रवर्तन र औद्योगिक नवप्रवर्तनबीच गहिरो एकीकरण प्रवर्द्धन गर्दै परम्परागत उद्योगहरूको स्तरोन्नतिमा थप सशक्तीकरण गर्नुपर्ने बताए। चीनको उद्योग, बजार र प्रविधिको सामर्थ्यको पूर्ण उपयोग गर्नुपर्ने, अन्तर्राष्ट्रिय नियम र मापदण्डसँग तालमेल गहिरो बनाउने, बाह्य अनिश्चितताको प्रभावकारी जवाफ दिने र वस्तु तथा सेवा व्यापारको एकीकृत विकास प्रवर्द्धन गर्नुपर्ने उपप्रधानमन्त्रीको भनाइ थियो।

हे लिफेङले उपभोग परिदृश्य थप समृद्ध बनाउन, उत्पादन र सेवाको गुणस्तर सुधार गर्न, उपभोक्ताको खर्च गर्ने इच्छा बढाउन र जनताको गुणस्तरीय जीवनका आवश्यकताहरू पूरा गर्नसमेत आग्रह गरे।

प्रमुख क्षेत्रहरूमा जोखिम प्रभावकारी रूपमा रोकथाम र न्यूनीकरण गर्नुपर्ने, स्थानीय साना तथा मझौला वित्तीय संस्थाहरूको सुधार र जोखिम न्यूनीकरण निरन्तर अघि बढाउने, तथा घरजग्गा बजार स्थिर बनाउनुपर्ने उनको भनाइ थियो।

उपप्रधानमन्त्रीले उद्यमहरूको व्यावहारिक कठिनाइ समाधान गर्न, बजार अपेक्षा स्थिर र सकारात्मक बनाउन र अर्थतन्त्रसम्बन्धी कार्यहरू थप प्रयास र ठोस कदमका साथ अघि बढाउन समयमै पहल गर्न निर्देशन दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button