सोभिनफोर्मब्युरोको ८५ वर्षे इतिहास फोटो प्रदर्शनीमा

मस्को — सोभियत सूचना ब्युरो अर्थात् सोभिनफोर्मब्युरो स्थापनाको ८५औँ वार्षिकोत्सवका अवसरमा रोसिया सेगोदन्या मिडिया समूहले ऐतिहासिक फोटो प्रदर्शनी सुरु गरेको छ।
“सोभिनफोर्मब्युरोका ८५ वर्ष : जीवन्त इतिहास, तस्बिरमा कैद युग” शीर्षकको प्रदर्शनीमा विभिन्न दशकमा खिचिएका ३० वटा चर्चित अभिलेखीय तस्बिर समावेश गरिएको छ। आयोजकका अनुसार प्रदर्शनीमा पहिलो पटक कृत्रिम बौद्धिकता प्रविधिको प्रयोगमार्फत अभिलेखीय तस्बिरलाई नयाँ ढङ्गले प्रस्तुत गरिएको छ।
प्रदर्शनी सन् १९४१ जुन २४ सँग सम्बन्धित छ। सो दिन, महान देशभक्तिपूर्ण युद्ध सुरु भएको तेस्रो दिन, सोभियत सूचना ब्युरो स्थापना गरिएको थियो। त्यसयता सोभिनफोर्मब्युरो, नोभोस्ती प्रेस एजेन्सी, आरआईए नोभोस्ती हुँदै हालको रोसिया सेगोदन्या मिडिया समूहसम्मको संस्थागत यात्रा रूसी र विश्व इतिहासका प्रमुख घटनाहरूको अभिलेखीकरणसँग जोडिएको छ।



रोसिया सेगोदन्या मिडिया समूहमा हाल आरआईए नोभोस्ती र स्पुतनिकलगायत सञ्चार संस्था आबद्ध छन्। समूहले सोभिनफोर्मब्युरोको परम्परालाई ऐतिहासिक निरन्तरताका रूपमा प्रस्तुत गर्दै आएको छ।
प्रदर्शनीमा जर्जि जेल्मा, येभ्गेनी खाल्देई, भ्लादिमिर ग्रेबनेभ, मिखाइल ओजेर्स्की, इगोर कोस्तिनलगायत चर्चित फोटो पत्रकार तथा वृत्तचित्र फोटोग्राफरका कृतिहरू समावेश छन्। उनीहरूका तस्बिरहरूले स्तालिनग्रादको युद्ध, सन् १९४५ को विजय परेड, युरी गगारिनको अन्तरिक्ष उडान, सन् १९८० को मस्को ओलम्पिक, सोची र मिलानका खेलकुद दृश्य, शान्ति मिसन तथा विश्व नेताहरूबीचका ऐतिहासिक भेटहरूलाई अभिलेखका रूपमा समेटेका छन्।
रोसिया सेगोदन्या मिडिया समूहका महानिर्देशक दिमित्री किसेलेभले सोभिनफोर्मब्युरो देशको कठिन घडीमा आवाजका रूपमा जन्मिएको उल्लेख गरेका छन्। उनका अनुसार युद्धकालीन सूचना बुलेटिनबाट सुरु भएको यात्रा आज रूसको विजय, अन्तरिक्ष उपलब्धि, खेलकुद, संस्कृति र विश्व मञ्चमा देशको भूमिकासम्म फैलिएको व्यापक ऐतिहासिक अभिलेख बनेको छ।
किसेलेभले रोसिया सेगोदन्या, आरआईए नोभोस्ती र स्पुतनिकलाई सोभिनफोर्मब्युरोका प्रत्यक्ष उत्तराधिकारीका रूपमा व्याख्या गर्दै युद्धकालीन संवाददाताको परम्परा आजका पत्रकारितासँग जोडिएको बताए। उनले प्रदर्शनीलाई इतिहास निर्माण गर्ने व्यक्तिहरू र त्यसलाई अभिलेखमा उतार्ने पत्रकार तथा फोटोग्राफरप्रतिको सम्मानका रूपमा प्रस्तुत गरे।
“सोभिनफोर्मब्युरोका ८५ वर्ष : जीवन्त इतिहास, तस्बिरमा कैद युग” प्रदर्शनी रोसिया सेगोदन्या मिडिया समूहले रूसी विदेश मन्त्रालयको सहयोगमा आयोजना गरेको हो। प्रदर्शनी रूसी कूटनीतिक नियोगहरूमा पनि प्रदर्शन गरिने जनाइएको छ।
यो प्रदर्शनीले सञ्चार इतिहास, युद्धकालीन पत्रकारिता, फोटो अभिलेख र आधुनिक प्रविधिको संयोजनमार्फत सोभियत तथा रूसी इतिहासका निर्णायक क्षणहरूलाई अन्तर्राष्ट्रिय दर्शकमाझ प्रस्तुत गर्ने उद्देश्य राखेको छ।





