स्थानीय चुनाव तयारीसँगै तीन महिनामा १ लाख ८१ हजार नयाँ मतदाता थपिए

काठमाडौँ — स्थानीय तह निर्वाचनको पूर्वतयारी अघि बढाएको निर्वाचन आयोगले पछिल्लो तीन महिनामा एक लाख ८१ हजार ३६७ नयाँ मतदाता थपिएको जनाएको छ।
आयोगका अनुसार पछिल्लो प्रतिनिधिसभा निर्वाचनपछि नयाँ मतदाता दर्ता र मतदाता नामावली अद्यावधिकको काम निरन्तर अघि बढाइएको हो। उक्त निर्वाचनपछि मतदाता नामावली अद्यावधिकका लागि १८ हजार ६२२ वटा निवेदन प्राप्त भएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।
गत प्रतिनिधिसभा निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम थिए। त्यसयता नयाँ मतदाता थपिने क्रमसँगै आयोगले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली व्यवस्थापन, मतदानस्थल तथा मतदान केन्द्र पुनरवलोकन र निर्वाचनसम्बन्धी अन्य तयारीलाई अघि बढाएको छ।
स्थानीय तह निर्वाचनको तयारीका विषयमा असार ४ गते राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय समावेशीकरण, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा निर्वाचन आयोगका पदाधिकारीसँग छलफल भएको थियो।
बैठकमा निर्वाचन हुने निर्धारित मितिभन्दा कम्तीमा छ महिना अगावै निर्वाचन घोषणा गर्नुपर्ने, आवश्यक बजेट समयमै उपलब्ध गराउनुपर्ने, आयोग र मातहतका निकायमा रिक्त पद पूर्ति गर्नुपर्ने तथा मतदाता नामावली व्यवस्थापन प्रणाली स्तरोन्नति गर्नुपर्ने विषयमा सुझाव प्रस्तुत गरिएको थियो।
त्यस्तै, आधुनिक उपकरणबाट मतपत्र छपाइ गर्ने, निर्वाचन व्यवस्थापनलाई प्रविधिमैत्री बनाउने र गलत सूचना प्रवाह रोक्न प्रभावकारी संयन्त्र विकास गर्ने विषयमा पनि छलफल भएको थियो।
आयोगले स्थानीय तह निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र विश्वसनीय बनाउन पूर्वतयारीका कामलाई प्राथमिकतामा राखेको जनाएको छ। मतदाता नामावलीको शुद्धता, मतदान केन्द्रको सहज पहुँच र निर्वाचन प्रक्रियाबारे नागरिकलाई समयमै जानकारी गराउनु आगामी निर्वाचन व्यवस्थापनका प्रमुख चुनौतीका रूपमा देखिएका छन्।





