११ असार २०८३, बिहीबार

भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश माथुर काठमाडौंमा

काठमाडौँ — भारतीय सर्वोच्च अदालतका पूर्वन्यायाधीश अशोककुमार माथुर काठमाडौं आइपुगेका छन्।

प्राप्त विवरणअनुसार माथुर नयाँ दिल्लीबाट इन्डिगो एयरलाइन्सको उडान नम्बर ६ई ११५१ मार्फत बुधबार बिहान १० बजे काठमाडौं आइपुगेका हुन्। उनीसहित चार जनाको टोली काठमाडौं आएको बताइएको छ।

टोलीको काठमाडौं भ्रमणको उद्देश्य र औपचारिक कार्यक्रमबारे तत्काल कुनै आधिकारिक जानकारी सार्वजनिक गरिएको छैन।

माथुर भारतका वरिष्ठ पूर्वन्यायाधीशमध्ये मानिन्छन्। उनी सन् २००४ देखि २००८ सम्म भारतीय सर्वोच्च अदालतका न्यायाधीश थिए। त्यसअघि उनी उच्च अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतमा पुगेका थिए।

आधिकारिक विवरणअनुसार माथुर सन् १९६७ मा राजस्थान उच्च अदालतमा अधिवक्ता बनेका थिए। त्यसपछि उनी सरकारी वकिल, अतिरिक्त महाधिवक्ता, उच्च अदालतका न्यायाधीश, मध्यप्रदेश उच्च अदालतका मुख्य न्यायाधीश र कलकत्ता उच्च अदालतका मुख्य न्यायाधीश भएका थिए।

सन् २००४ जुन ७ मा भारतीय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका माथुर सन् २००८ अगस्ट ७ मा सेवानिवृत्त भएका थिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button