११ असार २०८३, बिहीबार

हाइटीलाई ४–२ ले हराउँदै मोरक्को नकआउट चरणमा

रोमाञ्चक खेलमा मोरक्कोको पुनरागमन जित

काठमाडौँ — हाइटीको कडा चुनौती पन्छाउँदै मोरक्को फिफा विश्वकप २०२६ को अन्तिम ३२ अर्थात् नकआउट चरणमा प्रवेश गरेको छ। समूह ‘सी’ अन्तर्गत बिहीबार बिहान भएको रोमाञ्चक खेलमा मोरक्कोले पुनरागमन गर्दै हाइटीलाई ४–२ गोलले पराजित गरेको हो।

लामो समयपछि विश्वकपमा फर्किएको क्यारेबियन राष्ट्र हाइटीले खेलमा दुई पटक अग्रता लिँदै मोरक्कोलाई दबाबमा राखेको थियो। विश्वकप इतिहासमा पहिलो अंक जोड्ने हाइटीको लक्ष्य अन्ततः मोरक्कोका वैकल्पिक खेलाडीहरूको प्रभावशाली प्रदर्शनका कारण पूरा हुन सकेन।

खेलको १०औँ मिनेटमै मोरक्कोका गोलकिपर यासिन बोनोबाट आत्मघाती गोल भएपछि हाइटीले अप्रत्याशित अग्रता लिएको थियो। तर, ३९औँ मिनेटमा स्टार डिफेन्डर अकराफ हाकिमीले गोल गर्दै मोरक्कोलाई १–१ को बराबरीमा ल्याए।

४३औँ मिनेटमा विल्सन इसिडोरले गोल गरेपछि हाइटीले फेरि २–१ को अग्रता बनायो। तर, पहिलो हाफको इन्जुरी समयमा इस्माइल साइबारीले गोल गर्दै मोरक्कोलाई २–२ को बराबरीमा पुर्‍याए।

दोस्रो हाफमा मोरक्कोका वैकल्पिक खेलाडीहरू निर्णायक बने। ७८औँ मिनेटमा सुफियाने राहिमीले गोल गर्दै मोरक्कोलाई खेलमा पहिलो पटक ३–२ को अग्रता दिलाए। त्यसपछि ८९औँ मिनेटमा जेसिम यासिनले गोल गरेपछि मोरक्कोले ४–२ को जित सुनिश्चित गर्‍यो।

यो जितसँगै मोरक्को समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ। यही समूहको अर्को खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै शीर्ष स्थान सुरक्षित गर्‍यो।

मोरक्कोले तीन खेलबाट सात अंक जोड्दै समूह चरण पूरा गरेको हो। समान सात अंक जोडेको ब्राजिल गोल अन्तरका आधारमा शीर्ष स्थानमा रहँदा मोरक्को उपविजेताका रूपमा अर्को चरणमा प्रवेश गरेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button