११ असार २०८३, बिहीबार

ब्राजिल समूह विजेता बन्दै अन्तिम ३२ मा

विनीसियसको दुई गोलमा स्कटल्यान्ड ३–० ले पराजित

काठमाडौँ — फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३–० को सहज जित दर्ता गरेको छ। अमेरिकाको मायामी स्टेडियममा भएको खेलमा स्पष्ट अग्रता बनाएपछि ब्राजिलले बाँकी समय रक्षापंक्तिलाई मजबुत राख्दै जित सुरक्षित गरेको हो।

ब्राजिलका लागि विनीसियस जुनियरले दुई गोल गरे भने माथिअस कुन्हाले एक गोल थपे। यो जितसँगै ब्राजिलले समूह विजेताका रूपमा अन्तिम ३२ अर्थात् नकआउट चरणमा स्थान पक्का गरेको छ।

खेलको सातौँ मिनेटमै विनीसियसले गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए। आक्रामक लयमा देखिएको ब्राजिलका लागि पहिलो हाफको इन्जुरी समयमा विनीसियसले नै व्यक्तिगत दोस्रो गोल गर्दै अग्रता २–० बनाए।

दोस्रो हाफको ६०औँ मिनेटमा माथिअस कुन्हाले गोल गरेपछि ब्राजिल ३–० ले अघि बढ्यो। त्यसपछि दुवै टोलीबाट थप गोल हुन सकेन र ब्राजिलले सहज जित हात पार्‍यो।

समूह ‘सी’ बाट ब्राजिल विजेता र मोरक्को उपविजेताका रूपमा अन्तिम ३२ मा प्रवेश गरेका छन्। यो पराजयसँगै स्कटल्यान्डको अर्को चरणमा पुग्ने सम्भावना निकै कठिन बनेको छ। अब स्कटल्यान्डले उत्कृष्ट तेस्रो स्थानमा रहने टोलीमध्ये पर्न अन्य समूहका नतिजामा निर्भर रहनुपर्नेछ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button