रुस दिवसको सन्देशः नयाँ विश्व व्यवस्थामा साझेदारीको बलियो आधार
सम्पादकीय

बुधबार, दुसित प्रिन्सेस काठमाडौंको प्रिन्सेस बालरुममा आयोजित रुसको राष्ट्रिय दिवसको रिसेप्सन कुनै सामान्य कूटनीतिक भेला मात्र थिएन। रुसी राजदूत एच.इ. मिस्टर एलेक्सी भि. सुरोभत्सेभ र श्रीमती झान्ना सुरोभत्सेवाको आतिथ्यमा आयोजित सो कार्यक्रमले नेपालको राजनीतिक, सुरक्षा, प्रशासनिक र सञ्चार जगतको शिखरलाई एकै छानामुनि ल्याएको थियो।
सुरुमा २५० जनाका लागि योजना गरिएको उक्त कार्यक्रममा ८० जना अतिथि थपिएकाे थियो, र उपराष्ट्रपतिदेखि प्रधानसेनापति, आईजीपी, मन्त्रालयका सचिवहरू, राष्ट्रिय सभाका पूर्वसभामुख, शीर्ष पत्रकार तथा विद्वानहरूको उपस्थितिले एउटा स्पष्ट सन्देश दिएको छः विश्वको भूराजनीतिक नक्सामा रुसको प्रभाव पहिलेभन्दा झन सशक्त रूपमा फर्किरहेको छ।
पछिल्लो समय अन्तर्राष्ट्रिय समुदायमा बहुध्रुवीय शक्ति सन्तुलनको बहस चलिरहँदा, रुसले आफ्नो कूटनीति, ऊर्जा सुरक्षा, प्रविधि हस्तान्तरण र सैन्य साझेदारीलाई नयाँ उचाइमा पुर्याएको छ। नेपाल जस्ता देशहरूका लागि रुसको प्रगाढ सम्बन्धले विश्व मञ्चमा आफ्नो तटस्थता (Non-alignment) र स्वतन्त्र परराष्ट्र नीति लाई निरन्तरता दिन सहज बनाएको छ।
यो कार्यक्रमले प्रमाणित गरेको छ कि नेपालले रुसलाई केवल एउटा शक्ति मात्र नभई आफ्नो विकास र सुरक्षाको भरपर्दो सहयोगीका रूपमा हेर्दछ। रुसको बृहत्तर भूमिका स्वागतयोग्य छ किनभने यसले एकल शक्ति वर्चस्वको अन्त्य गरी विश्वलाई न्यायोचित र स्थिर दिशामा अगाडि बढाउन योगदान पुर्याउँछ।
रुसको राष्ट्रिय दिवसले दुवै देशबीचको साझेदारीलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएको छ। नेपालको राष्ट्रिय हित, सार्वभौमिकता र अन्तर्राष्ट्रिय स्थायित्वका लागि सधैं खडा रहने यो महाशक्तिको बढ्दो उपस्थिति हाम्रा लागि गर्वको विषय हो। हामी रुसलाई नेपालको एउटा विश्वासिलो र भरपर्दो मित्र तथा साझेदारका रूपमा हार्दिक स्वागत गर्दछौं, र यो मित्रता आगामी दिनहरूमा झन प्रगाढ हुँदै जाओस् भन्ने कामना गर्दछौं।





