क्यानडालाई हराउँदै स्विट्जरल्यान्ड नकआउट चरणमा
समूह ‘बी’को विजेता बन्यो स्विट्जरल्यान्ड, क्यानडा पनि दोस्रो स्थानबाट अन्तिम ३२ मा

काठमाडौँ — घरेलु टोली क्यानडालाई पराजित गर्दै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ। क्यानडाको भ्यानकुभरस्थित बिसी प्लेस स्टेडियममा भएको समूह ‘बी’को खेलमा स्विट्जरल्यान्डले क्यानडामाथि २–१ गोलको जित निकाल्दै समूह विजेताका रूपमा अन्तिम ३२ मा स्थान पक्का गरेको हो।
स्विट्जरल्यान्डको जितमा रुबेन वर्गास र जोहान मान्जाम्बीले एक–एक गोल गरे। क्यानडाका लागि प्रमिस डेभिडले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपछि दोस्रो हाफको सुरुमै स्विट्जरल्यान्डले अग्रता बनायो। खेलको ४६औँ मिनेटमा रुबेन वर्गासले गोल गर्दै स्विट्जरल्यान्डलाई १–० ले अघि बढाए।
त्यसपछि ५७औँ मिनेटमा जोहान मान्जाम्बीले गोल थप्दै स्विट्जरल्यान्डको अग्रता २–० मा पुर्याए। दुई गोलले पछि परेको क्यानडाले खेलमा फर्किने प्रयास गर्यो। ७६औँ मिनेटमा प्रमिस डेभिडले गोल गर्दै क्यानडाका लागि आशा जगाए पनि त्यसपछि थप गोल हुन सकेन। अन्ततः स्विट्जरल्यान्डले २–१ को जितसहित महत्वपूर्ण तीन अंक सुरक्षित गर्यो।
यो जितसँगै स्विट्जरल्यान्डले तीन खेलबाट सात अंक जोड्दै समूह ‘बी’को शीर्ष स्थानमा रह्यो। पराजित भए पनि क्यानडा चार अंकसहित समूहको दोस्रो स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको छ।
यसै समूहमा रहेको बोस्निया एन्ड हर्जगोभिनाले पनि समान चार अंक जोडे पनि गोल अन्तरका आधारमा क्यानडाभन्दा पछि पर्यो। आजै भएको अर्को खेलमा बोस्निया एन्ड हर्जगोभिनाले कतारलाई ३–१ गोलले पराजित गरेको थियो।
समूहको तेस्रो स्थानमा रहेको बोस्निया एन्ड हर्जगोभिनाको उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना भने अझै कायम छ। एक अंक मात्र जोडेको कतार भने समूह चरणबाटै बाहिरिएको छ।





