११ असार २०८३, बिहीबार

कक्षा १२ नतिजा विवाद : पारदर्शिता माग्दै विद्यार्थी सडकमा

काठमाडौँ — कक्षा १२ को नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रियामा त्रुटि भएको, पुनर्योग तथा उत्तरपुस्तिका पुनःपरीक्षणको व्यवस्था प्रभावकारी नभएको भन्दै उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा सहभागी विद्यार्थीहरूले निष्पक्ष छानबिन, निःशुल्क पुनर्योग, उत्तरपुस्तिका पुनःपरीक्षण र मूल्याङ्कन प्रक्रियामा पारदर्शिता सुनिश्चित गर्न माग गरेका छन्। उनीहरूले कक्षा १२ को नतिजासम्बन्धी विवाद केवल अंकसँग मात्र सम्बन्धित नभई हजारौँ विद्यार्थीको शैक्षिक भविष्यसँग जोडिएको विषय भएको बताएका छन्।

प्रदर्शनको अगुवाइ रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायत विद्यार्थीहरूले गरेका थिए। प्रदर्शनकारीहरूले “१२ वर्षको मेहनत खेर, जिम्मेवार को?”, “जवाफ दे”, “हाम्रो भविष्य बरबाद भयो” र “हामी न्याय खोज्न कहाँ जाऊँ?” लगायत नारासहितका प्लेकार्ड बोकेका थिए।

विद्यार्थीहरूको भनाइमा छिटो नतिजा सार्वजनिक गर्ने नाममा मूल्याङ्कन प्रक्रियामा लापरबाही भएको आशंका छ। परीक्षामा राम्रो लेखेका कतिपय विद्यार्थीले अपेक्षाभन्दा निकै कम ग्रेड आएको दाबी गर्दै उत्तरपुस्तिका पुनः परीक्षणको विश्वसनीय र सहज व्यवस्था हुनुपर्ने बताएका छन्।

उनीहरूले पुनर्योग प्रक्रियालाई विद्यार्थीमैत्री बनाउनुपर्ने, आर्थिक अवस्थाका कारण कुनै विद्यार्थी न्याय खोज्ने प्रक्रियाबाट वञ्चित हुन नहुने र बोर्डले विद्यार्थीको गुनासो सम्बोधन गर्ने स्पष्ट संयन्त्र बनाउनुपर्ने माग गरेका छन्।

राष्ट्रिय परीक्षा बोर्डले नतिजाप्रति असन्तुष्ट विद्यार्थीका लागि पुनर्योग आवेदनको व्यवस्था गरेको छ। तर प्रदर्शनकारी विद्यार्थीहरूले विद्यमान प्रक्रिया पर्याप्त नभएको भन्दै उत्तरपुस्तिका पुनःपरीक्षण र मूल्याङ्कन प्रणालीबारे थप पारदर्शिता आवश्यक रहेको बताएका छन्।

यता शिक्षा मन्त्रालयले भने कक्षा १२ को नतिजा प्रकाशनमा त्रुटि नभएको स्पष्ट पारेको छ। मन्त्रालयले मूल्याङ्कन प्रक्रियामा लापरबाही भएको भन्ने आरोप असत्य रहेको दाबी गर्दै नतिजा प्रकाशन प्रक्रिया नियमानुसार भएको बताएको छ।

विद्यार्थीहरूले आफ्ना माग सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button