११ असार २०८३, बिहीबार

कैलालीमा तालिमका क्रममा ग्रिनेड विस्फोट, सेनाका हुद्दाको मृत्यु

कैलाली — कैलालीमा सैनिक तालिमका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ। घटनामा एक सहसेनानी घाइते भएका छन्।

कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट भएको हो। विस्फोटमा परी गम्भीर घाइते भएका हुद्दा हिमाल विक्रम विष्टको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रहरीका अनुसार विष्टलाई उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल लगिएको थियो। उनको बिहीबार मध्याह्न करिब १२ बजे मृत्यु भएको हो।

सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। थप उपचारका लागि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ पठाइएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार बिहीबार बिहान सुदूरपश्चिम पृतना तालिम शिक्षालय, गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि गएको सेनाको टोली तालिमकै क्रममा दुर्घटनामा परेको हो।

घटनाबारे नेपाली सेना र सम्बन्धित सुरक्षा निकायले थप अनुसन्धान अघि बढाएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button