११ असार २०८३, बिहीबार

शासकीय स्वरूपमा सहमति खोज्दै रास्वपा

चितवन — कानुनमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीकी नेत्री सोविता गौतमले शासकीय स्वरूपबारे पार्टीले अघि सारेको प्रस्तावमा अरू दलहरूसँग प्रारम्भिक छलफल भएको बताएकी छन्।

बिहीबार चितवनस्थित रास्वपाको महाधिवेशनस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले शासकीय स्वरूपसम्बन्धी प्रस्ताव संविधान संशोधनसँग समेत जोडिएको विषय भएकाले यसमा व्यापक राजनीतिक छलफल आवश्यक रहेको बताइन्।

रास्वपाले प्रदेशसभा खारेजी, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको नयाँ शासकीय संरचना र संघीयताको पुनर्संरचनासम्बन्धी प्रस्ताव महाधिवेशनमा अघि सारेको छ। गौतमका अनुसार प्रस्तावमाथि छलफल हुँदै जाँदा कुन बिन्दुमा सहमति बन्न सक्छ भन्ने विषय राजनीतिक संवादबाटै स्पष्ट हुनेछ।

उनले संविधान संशोधनजस्ता संवेदनशील विषय कुनै एक दलको निर्णयबाट मात्र टुंगो लाग्ने विषय नभएको संकेत गर्दै आवश्यक सहमतिका लागि दलहरूबीच संवाद अघि बढ्ने बताइन्।

त्यसक्रममा गौतमले तीन दिनका लागि निर्धारित रास्वपाको महाधिवेशन लम्बिएको पनि जानकारी दिइन्। पदाधिकारीको निर्वाचनपछि बिहीबार नै महाधिवेशन सम्पन्न गर्ने तयारी रहेको उनको भनाइ थियो।

रास्वपाको पहिलो महाधिवेशन भएकाले प्रक्रिया, व्यवस्थापन र आन्तरिक अभ्यासलाई पार्टीले सिकाइका रूपमा लिएको उनले बताइन्।

गौतमले दोस्रो चरणको निर्वाचनमा आफूले पनि उम्मेदवारी दिने बताइन्। तर कुन पदमा उम्मेदवारी दिने भन्नेबारे भने उम्मेदवारी दर्तापछि मात्र जानकारी गराउने उनको भनाइ थियो।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button