नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता

काठमाडौँ — उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका कार्यवाहक राजदूत स्कट अर्बमले शिष्टाचार भेटवार्ता गरेका छन्।
लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा बिहीबार भएको भेटमा नेपाल र अमेरिकाबीचको द्विपक्षीय सम्बन्धका विविध आयामबारे विचार–विमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।
भेटका क्रममा उपराष्ट्रपति यादवले सन् १९४७ मा कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नेपाल र अमेरिकाबीचको सम्बन्ध पारस्परिक सम्मान, आपसी समझदारी, विकास सहयोग तथा गहिरो जनस्तरीय सम्बन्धका आधारमा घनिष्ठ, सौहार्दपूर्ण र सहयोगात्मक रहँदै आएको बताए।
लोकतन्त्र, मानव अधिकार र स्वतन्त्रताजस्ता साझा मूल्यहरूको सम्मान गर्दै नेपालले अमेरिकासँगको सम्बन्धलाई सधैँ उच्च महत्त्व दिँदै आएको उनले उल्लेख गरे। उपराष्ट्रपति यादवले नेपालको सामाजिक तथा आर्थिक विकासमा अमेरिकाले दशकौँदेखि पुर्याउँदै आएको सहयोगप्रति धन्यवादसमेत व्यक्त गरे।
उनले आगामी वर्ष मनाइने नेपाल–अमेरिका कूटनीतिक सम्बन्ध स्थापनाको ८०औँ वार्षिकोत्सव दुई देशबीचको दीर्घकालीन मित्रता र साझेदारीलाई प्रतिबिम्बित गर्ने महत्वपूर्ण कोसेढुङ्गा हुने विश्वास व्यक्त गरे।
उपराष्ट्रपति यादवले आगामी दिनमा पनि अमेरिकाले नेपालको विकास प्रयासमा निरन्तर समर्थन र सहयोग जारी राख्ने विश्वास व्यक्त गरे। उनले अमेरिकाको स्वतन्त्रता घोषणापत्रको २५०औँ वार्षिकोत्सवका अवसरमा अमेरिकी सरकार र जनताप्रति बधाई तथा शुभकामना पनि व्यक्त गरे।
भेटका अवसरमा कार्यवाहक राजदूत अर्बमले नेपाल र अमेरिकाबीचको सम्बन्ध दीर्घकालीन, ऐतिहासिक र बहुआयामिक रहेको उल्लेख गर्दै त्यसलाई अझ उच्चस्तरमा पुर्याउन अमेरिका इच्छुक रहेको बताए।
उनले नेपालप्रति अमेरिकाको सहयोग निरन्तर जारी रहने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपालमा सञ्चालन भइरहेका अमेरिकी परियोजना सहज र प्रभावकारी रूपमा अघि बढिरहेकामा सन्तोष व्यक्त गरेको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ।





