धनगढीका होटल तथा लजमा प्रहरीको छापा, सात भारतीयसहित २४ जना नियन्त्रणमा

कैलाली — धनगढी उपमहानगरपालिका क्षेत्रका विभिन्न होटल तथा लजमा प्रहरीले आकस्मिक छापा मारी २४ जनालाई नियन्त्रणमा लिएको छ। बजार क्षेत्रका होटल तथा लजहरूमा कानुनविपरीत तथा शंकास्पद गतिविधि भइरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको टोलीले विशेष जाँच गरेको हो।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार जाँचका क्रममा ११ महिला र १३ पुरुष गरी २४ जनालाई नियन्त्रणमा लिइएको छ। नियन्त्रणमा लिइएका १३ पुरुषमध्ये सात जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ।
प्रहरीले बजार क्षेत्रका होटल तथा लजमा अनैतिक र शंकास्पद गतिविधि भइरहेको जनगुनासो तथा गोप्य सूचनाका आधारमा छापा मारिएको बताएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले नियन्त्रणमा लिइएकाहरूलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अगाडि बढाइएको जानकारी दिएका छन्।
प्रहरीका अनुसार पछिल्लो समय धनगढी बजार क्षेत्रमा होटल तथा लजहरूमा हुने अवाञ्छित गतिविधिबारे निगरानी बढाइएको छ। सुरक्षा संवेदनशीलता, सार्वजनिक मर्यादा र कानुनी व्यवस्थालाई ध्यानमा राख्दै यस्ता गतिविधि नियन्त्रणका लागि नियमित तथा आकस्मिक जाँचलाई निरन्तरता दिइने प्रहरीको भनाइ छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूविरुद्ध लागेको आरोपबारे थप तथ्य अनुसन्धानपछि मात्रै स्पष्ट हुने प्रहरीले जनाएको छ। प्रहरीले अनुसन्धान नसकिँदै कसैलाई दोषी ठहर गर्न नमिल्ने भन्दै कानुनी प्रक्रिया अनुसार थप कारबाही अघि बढाइने बताएको छ।





