रास्वपा महामन्त्रीको दौडबाट पछि हटे शिशिर खनाल, भने– सहमतिका लागि छाडें

भरतपुर — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता शिशिर खनाल पार्टीको महामन्त्री पदको प्रतिस्पर्धाबाट पछि हटेका छन्। पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्व चयनमा सहमतिलाई प्राथमिकता दिन आफूले महामन्त्रीमा उम्मेदवारी नदिने निर्णय गरेको खनालले बताएका छन्।
शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक वक्तव्यमा खनालले रास्वपाको पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै पार्टीलाई अझ सशक्त बनाउने उद्देश्यले आफूले महामन्त्री पदको दाबी छाडेको उल्लेख गरेका छन्।
उनले आफ्नो निर्णयले अन्य आकांक्षी नेताहरूलाई पनि सहमतिको वातावरण बनाउन प्रेरित गर्ने अपेक्षा व्यक्त गरेका छन्। खनालले पार्टीभित्र सहकार्य, संस्थागत अभ्यास र साझा नेतृत्व निर्माणलाई अहिलेको आवश्यकता भएको संकेत गरेका छन्।
केन्द्रीय समिति सदस्यको निर्वाचनमा आफूलाई देशभर तथा प्रवासबाट आएका प्रतिनिधिहरूले दिएको विश्वासप्रति खनालले आभार व्यक्त गरेका छन्। उनले आगामी दिनमा पनि पार्टीलाई थप बलियो बनाउन सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन्।
“हिजो सम्पन्न केन्द्रीय समितिको निर्वाचनमा मलाई विश्वास गरी देशभरिबाट र प्रवासमा रहनुभएका प्रतिनिधिहरूले व्यक्त गर्नुभएको विश्वास र भरोसाको सम्मान गर्दै आगामी दिनमा पार्टीलाई थप बलियो बनाउने कुरामा मेरो भूमिका रहने नै छ,” खनालले वक्तव्यमा भनेका छन्।
यसअघि रास्वपाको एक महामन्त्री पदका लागि खनालसहित आठ जना नेताले उम्मेदवारी दिने घोषणा गरेका थिए। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेताहरू गणेश पराजुली, मनीष झा र गणेश कार्कीले पनि महामन्त्रीमा दाबी गरेका थिए।
त्यस्तै, विवेकशील साझा पार्टीकी तत्कालीन महासचिव रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले पनि महामन्त्री पदमा उम्मेदवारी दिने बताएका थिए।
खनालको पछि हट्ने निर्णयसँगै रास्वपाभित्र महामन्त्री चयनमा सहमतिको सम्भावना खोजिने संकेत देखिएको छ। तर धेरै आकांक्षी रहेको अवस्थामा नेतृत्व चयन सहमतिबाटै टुंगिन्छ कि प्रतिस्पर्धाबाट अघि बढ्छ भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।





