रास्वपा महामन्त्रीमा राजु पाण्डेको उम्मेदवारी घोषणा

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका नेता राजु पाण्डेले पार्टीको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्। रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयन प्रक्रिया अघि बढिरहेका बेला पाण्डेले सामाजिक सञ्जालमार्फत महामन्त्रीमा आफ्नो दाबी सार्वजनिक गरेका हुन्।
केन्द्रीय सदस्यमा निर्वाचित गराउन प्रतिनिधिहरूले गरेको विश्वासप्रति आभार व्यक्त गर्दै पाण्डेले पार्टीलाई अझ सशक्त, व्यवस्थित र गतिशील बनाउने उद्देश्यसहित महामन्त्री पदको यात्रामा अघि बढेको बताएका छन्।
पाण्डे काठमाडौं महानगरपालिकामा बालेन्द्र शाह मेयर हुँदा नगर प्रहरी प्रमुख थिए। पछि बालेन्द्रले महानगर नेतृत्व छाडेपछि पाण्डेले पनि पदबाट राजीनामा दिँदै सक्रिय राजनीतिमा प्रवेश गरेका थिए। उनी हाल रास्वपाका तर्फबाट प्रतिनिधिसभा सदस्यसमेत छन्।
रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत सभापतिमा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। अन्य पदाधिकारीका लागि भने निर्वाचन प्रक्रिया अघि बढिरहेको छ। महामन्त्री पदमा धेरै आकांक्षी देखिएपछि नेतृत्व चयन सहमति वा प्रतिस्पर्धा कुन प्रक्रियाबाट टुंगिने भन्ने विषयमा चासो बढेको छ।
यसअघि निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेताहरू गणेश पराजुली, मनीष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेलगायतले महामन्त्रीमा दाबी प्रस्तुत गरेका थिए। परराष्ट्रमन्त्रीसमेत रहेका शिशिर खनालले पनि यसअघि महामन्त्रीमा दाबी गरे पनि पछि पार्टी एकता र सहमतिका लागि आफू पछि हट्ने बताएका थिए।
पाण्डेको उम्मेदवारी घोषणासँगै रास्वपाभित्र महामन्त्री पदको प्रतिस्पर्धा थप रोचक बनेको छ। पार्टीको संगठनात्मक संरचना, नेतृत्व व्यवस्थापन र आगामी राजनीतिक दिशाबारे महाधिवेशनले स्पष्ट सन्देश दिने अपेक्षा गरिएको छ।





