रास्वपामा पदाधिकारी सहमतिको प्रयास असफल, महामन्त्री र सहमहामन्त्रीमा प्रतिस्पर्धा हुने संकेत

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीमा पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयासले अपेक्षित परिणाम दिन सकेको छैन। पार्टी सभापति रवि लामिछानेसहित शीर्ष नेताहरूले रातभर आकांक्षीहरूसँग छलफल गरे पनि महामन्त्री र सहमहामन्त्री पदमा सहमति जुट्न नसकेको हो।
छलफलपछि केही पदमा आकांक्षीहरू पछि हटे पनि महामन्त्री र सहमहामन्त्रीमा भने दाबी गर्नेहरूको संख्या घटेको छैन। खुला उपसभापति पदमा दाबी गरेका विराजभक्त श्रेष्ठ भने प्रतिस्पर्धाबाट पछि हटेका छन्। सभापति लामिछाने र अर्थमन्त्रीसमेत रहेका अर्का दाबेदार स्वर्णिम वाग्लेसँगको परामर्शपछि श्रेष्ठ उम्मेदवारी नदिने निष्कर्षमा पुगेका हुन्।
महिला उपसभापतिमा सोविता गौतम र तोशिमा कार्कीबीच प्रतिस्पर्धा हुने देखिएको छ। सुरुमा उपसभापतिको दाबी गरेका समीक्षा बाँस्कोटा र इन्दिरा राना मगरले गौतमलाई समर्थन गरेका छन्। महिला उपसभापतिमा सहमति जुटाउन सभापति लामिछानेले वाग्लेलाई आकांक्षीहरूसँग छलफलका लागि खटाएका थिए। पछि लामिछाने स्वयंले पनि छलफल गरेपछि बाँस्कोटा र राना प्रतिस्पर्धाबाट पछि हटेका हुन्।
राना आदिवासी समुदायको प्रतिनिधित्व हुने भएकाले आफूले उम्मेदवारी दिन चाहेको बताउँदै आएकी थिइन्। तर नेतृत्वसँगको छलफलपछि उनी गौतमको समर्थक बस्न तयार भएकी हुन्। बाँस्कोटाले पनि शीर्ष नेताहरूसँगको भेटपछि आफ्नो दाबी फिर्ता लिँदै गौतमलाई समर्थन गरेकी छन्।
अर्कोतर्फ, तोशिमा कार्कीले महिला उपसभापतिमा उम्मेदवारी दिने तयारी गरेकी छन्। उनको प्रस्तावकमा उपसभापतिकै आकांक्षी लिमा अधिकारी रहेकी छन्। अधिकारी निवर्तमान कोषाध्यक्ष हुन्। आफूलाई उपसभापति बनाउनुपर्ने माग गर्दै आएकी अधिकारीले नेतृत्वबाट सहयोग नपाउने अवस्था देखेपछि कार्कीलाई समर्थन गरेको बताइएको छ।
महामन्त्री पदमा भने सहमति जुट्न सकेको छैन। शिशिर खनालले पार्टी एकता, संस्थागत सुदृढीकरण र नेतृत्व चयनमा सहमतिको वातावरण बनाउन भन्दै आफ्नो दाबी फिर्ता लिएका छन्। उनले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गर्दै पहिलो ऐतिहासिक महाधिवेशनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न आफू महामन्त्रीको प्रतिस्पर्धाबाट पछि हटेको बताएका छन्।
खनाल पछि हटे पनि महामन्त्री पदमा अन्य आकांक्षीहरू कायमै छन्। निवर्तमान महामन्त्री कविन्द्र बुर्लाकोटी, निवर्तमान सहमहामन्त्री विपिन आचार्य, नेताहरू गणेश पराजुली, मनीष झा, गणेश कार्की, रञ्जु दर्शना, सागर ढकाल र प्रमोद न्यौपानेले महामन्त्रीमा दाबी गरेका छन्। सभापति लामिछानेसहित शीर्ष नेताहरूले महामन्त्रीमा सहमति जुटाउने प्रयास गरे पनि निष्कर्ष निस्कन सकेको छैन।
सहमहामन्त्री पदमा पनि प्रतिस्पर्धा हुने सम्भावना बढेको छ। पुरुषतर्फ मिलन लिम्बु, अशिम शाह, बब्लु गुप्ता, यज्ञमणि न्यौपाने, पुकार बम, सुलभ खरेललगायतले उम्मेदवारी घोषणा गरेका छन्। महिलातर्फ ज्वाला संग्रौला, निशा डाँगी र निशा मेहताले दाबी प्रस्तुत गरेका छन्। उनीहरूबीच पनि सहमतिको प्रयास भइरहेको छ।
यसैबीच, रास्वपाको केन्द्रीय निर्वाचन आयोगले निर्वाचित केन्द्रीय सदस्यहरूको अन्तिम नामावली सार्वजनिक गर्न ढिलाइ गरेको छ। रातभर काम भए पनि नामावली घोषणा हुन नसक्दा पदाधिकारीका लागि उम्मेदवारी फारम भरेका आकांक्षीहरूको प्रक्रिया अघि बढ्न सकेको छैन। रास्वपाको व्यवस्था अनुसार पदाधिकारीको उम्मेदवार बन्न केन्द्रीय समिति सदस्य निर्वाचित भएको हुनुपर्छ।
रास्वपाले विधानमार्फत १५८ सदस्यीय केन्द्रीय कार्यसमितिको संरचना तय गरेको छ। त्यसमा प्रत्यक्ष निर्वाचित, समावेशी, प्रदेश प्रतिनिधित्व र सभापतिबाट मनोनीत सदस्यहरूको मिश्रित व्यवस्था छ। पदाधिकारी संख्या १९ पुर्याइएको छ।
पदाधिकारी संरचनामा सभापति एक, वरिष्ठ नेता एक, उपसभापति तीन, महामन्त्री दुई, सहमहामन्त्री पाँच, प्रवक्ता एक, सहप्रवक्ता तीन, कोषाध्यक्ष एक र सहकोषाध्यक्ष दुई रहने व्यवस्था छ। यीमध्ये केही पद प्रत्यक्ष निर्वाचनबाट र केही पद मनोनीत प्रक्रियाबाट चयन हुनेछन्।
सभापतिमा संस्थापक सभापति रवि लामिछाने निर्विरोध चयन भइसकेका छन्। तर अन्य पदाधिकारी चयनमा आकांक्षी धेरै देखिएपछि रास्वपाको नेतृत्व व्यवस्थापनमा चुनौती थपिएको छ। सहमतिको प्रयास जारी रहे पनि महामन्त्री र सहमहामन्त्रीमा प्रतिस्पर्धा हुने संकेत बलियो देखिएको छ।





