सहायक सिडिओको खानामा किरा भेटिएपछि होटललाई ५० हजार जरिवाना

पश्चिम नवलपरासी – बर्दघाटस्थित रोयल कटेज रेस्टुरेन्टलाई सहायक प्रमुख जिल्ला अधिकारी (सिडिओ) पोषणराज भण्डारीको खानामा किरा भेटिएपछि रु ५० हजार जरिवाना गरिएको छ।
बालमैत्री घोषणाका लागि बर्दघाट नगरपालिकाका विभिन्न वडामा अनुगमन गर्न पुगेको टोलीका संयोजक समेत रहेका भण्डारीले सोही होटलमा खाना खाएका थिए। खानाको तरकारीमा शंखे किरा भेटिएपछि उनले तत्काल अनुगमन टोली परिचालन गरेका थिए।
जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयको संयुक्त टोलीले गरेको अनुगमनमा होटलले खाद्य स्वच्छताका मापदण्ड पालना नगरेको र प्रयोग भएका सामग्री अस्वस्थकर अवस्थामा रहेको पाइएको थियो। सोही आधारमा होटललाई रु ५० हजार जरिवाना गर्दै भविष्यमा यस्तो कमजोरी नदोहोर्याउन कडा निर्देशन दिइएको भण्डारीले जानकारी दिए।
पूर्व–पश्चिम राजमार्गमा अवस्थित उक्त होटल यात्रु तथा स्थानीयका लागि प्रमुख सेवा केन्द्रमध्ये एक हो।
यसअघि चितवनमा गृहमन्त्रीले अमलेट खाँदा माछाको काँडा भेटिएपछि दुई जना कुक पक्राउ परेका थिए भने रु तीन लाख जरिवाना गरिएको थियो।





