१२ असार २०८३, शुक्रबार

रास्वपा महाधिवेशन लम्बिएपछि संसद बैठक पुनः स्थगित

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन लम्बिएपछि संसद बैठक दोस्रो पटक स्थगित गरिएको छ। असार ७, ८ र ९ गते महाधिवेशन सम्पन्न गर्ने र १० गते बिहीबार संसद बैठक बस्ने गरी तयारी भए पनि १२ गते शुक्रबारसम्म महाधिवेशन नसकिएपछि दुईपटक बैठकको मिति सारिएको हो।

बिहीबार बस्ने तय भएको संसद बैठक रास्वपाको महाधिवेशन लम्बिएपछि सूचना निकालेर शुक्रबारका लागि सारिएको थियो। तर रास्वपाको महाधिवेशन जारी रहेकै कारण शुक्रबारका लागि तय भएको बैठक पनि स्थगित गरिएको छ।

संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेयले जारी गरेको सूचनामा बैठक यही असार १३ गते शनिबारका लागि सरेको जनाइएको छ। सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको नियमावली, २०८३ को नियम ६ को ३ बमोजिम आज दिउँसो १ बजेका लागि यसअघि सूचनामार्फत् तोकेको बैठक पुनः सरेको जानकारी दिएका छन्।

संसदमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन, आर्थिक विधेयक, महालेखा परीक्षकको ३९औँ वार्षिक प्रतिवेदन, सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनि लाउन्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयकलगायत महत्त्वपूर्ण विधेयकहरू पेश गर्नुपर्ने भए पनि पटकपटक संसद बैठक स्थगित भइरहेको छ। रास्वपा संसदीय दलको नेता तथा प्रधानमन्त्री बालेन्द्र शाह स्वयं महाधिवेशनमा व्यस्त रहेकाले संसद बैठक सञ्चालन नभएको बुझिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button