‘क्यान्सर–अन–अ–चिप’ प्रविधिका अग्रणी वैज्ञानिक चेन वेइछियाङ चीन फर्किए

अमेरिकाको प्रतिष्ठित न्युयोर्क विश्वविद्यालयका प्राध्यापक तथा ‘क्यान्सर–अन–अ–चिप’ प्रविधिका प्रख्यात वैज्ञानिक चेन वेइछियाङ चीन फर्किएका छन्। नान्जिङ विश्वविद्यालयको जैव–चिकित्सा इन्जिनियरिङ विद्यालयमा उनले विशिष्ट प्राध्यापक तथा शैक्षिक नेतृत्वदायी जिम्मेवारी सम्हालेका छन्।
चेन न्युयोर्क विश्वविद्यालयमा मेकानिकल तथा बायोमेडिकल इन्जिनियरिङका टेन्युअर्ड प्राध्यापक थिए। उनी कोशिकीय बायोमेकानिक्स, अर्गन–अन–अ–चिप, माइक्रोफ्लुइडिक प्रणाली, क्यान्सर जीवविज्ञान, इम्युनो–इन्जिनियरिङ र सटीक चिकित्सा अनुसन्धानका अन्तर्राष्ट्रिय रूपमा चिनिएका वैज्ञानिक मानिन्छन्।
नान्जिङ विश्वविद्यालयले चेनको आगमनलाई आफ्नो जैव–चिकित्सा इन्जिनियरिङ क्षेत्रका लागि महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। विश्वविद्यालयका सहायक अध्यक्ष जियाङ थियानले चेनले विश्वका अग्रणी विश्वविद्यालयहरूमा रहेर कोशिकीय बायोमेकानिक्स र अर्गन–अन–अ–चिपजस्ता अत्याधुनिक क्षेत्रमा उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन्।
उनका अनुसार शैक्षिक करियरको उत्कर्षमा रहेका बेला चीन फर्किएर चेनले नान्जिङ विश्वविद्यालय रोज्नु स्वदेशप्रतिको प्रतिबद्धता र विश्वविद्यालयप्रतिको गहिरो विश्वासको उदाहरण हो।
चेन विशेषगरी ‘क्यान्सर–अन–अ–चिप’ प्रविधिका अग्रणी अनुसन्धानकर्तामध्ये एक मानिन्छन्। यो प्रविधिले मानव शरीरबाहिर प्रयोगशालामै क्यान्सरको सूक्ष्म वातावरण तयार पार्ने प्रयास गर्छ। यस्तो प्रणालीले नयाँ औषधि परीक्षण, रोगको व्यवहार अध्ययन र व्यक्तिगत उपचार पद्धति विकासमा महत्वपूर्ण सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
पछिल्ला वर्षहरूमा चीनले विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा अनुसन्धान संस्थामा कार्यरत आफ्ना वैज्ञानिकहरूलाई स्वदेशी अनुसन्धान प्रणालीमा आकर्षित गर्न विशेष जोड दिँदै आएको छ। चेन वेइछियाङको स्वदेश फिर्तीलाई पनि चीनको उच्चस्तरीय वैज्ञानिक प्रतिभा पुनःआकर्षण गर्ने प्रयासको अर्को महत्वपूर्ण संकेतका रूपमा हेरिएको छ।
श्राेत: साउथ चाइना मर्निङ पाेष्ट





