१२ असार २०८३, शुक्रबार

सेना, रास्वपा र अमेरिकामाथि प्रचण्डको तीव्र प्रहार

नेपाली कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली सेना, राष्ट्रिय स्वतन्त्र पार्टी र अमेरिकाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। विराटनगरमा शुक्रबार आयोजित पार्टीको कोशी प्रदेशस्तरीय एकता बैठक तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले दिल्लीमा भएको १२ बुँदे समझदारीदेखि पछिल्लो राजनीतिक घटनाक्रमसम्मलाई जोडेर गम्भीर टिप्पणी गरे।

प्रचण्डले २०८२ भदौ २३ र २४ गतेको जेनजी विद्रोह, फागुन २१ को निर्वाचन परिणाम, नेपाली सेनाको भूमिका, रास्वपाको उदय तथा नेपालभित्र अमेरिकी प्रभावबारे तीखा प्रश्न उठाए। उनले अमेरिकातर्फ संकेत गर्दै ‘सुपर पावर’ ले नेपालको संविधान खारेज गर्न लागेको आरोपसमेत लगाए।

यसअघि नेपाल कम्युनिस्ट पार्टी एमाले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ ले संसदमा नेपाली सेनाप्रति आक्रोश व्यक्त गरेका थिए। बादलकै शैलीमा प्रचण्डले पनि नेपाली सेनाको संवेदनशीलता, टिओबी, बारबरा फाउन्डेसन र अमेरिकन यूथ काउन्सिलजस्ता संस्थाहरूको नेपालभित्रको सक्रियतालाई रणनीतिक भन्दै त्यसको काउन्टर गर्नुपर्ने बताए।

प्रचण्डले १२ बुँदे समझदारीको प्रसंग उठाउँदै तत्कालीन समयमा अमेरिकाले त्यसलाई रोक्न खोजेको दाबी गरे। उनले भने, ‘हामी जब ऐतिहासिक १२ बुँदे समझदारीको मस्यौदा तयार पार्न दिल्लीमा गिरिजाप्रसाद कोइराला, माधवकुमार नेपाल र हामी सबै लागिरहेका थियौँ, तत्कालीन समयमा संसारको एउटा ‘सुपर पावर’ (अमेरिकातर्फ सङ्केत गर्दै) का उच्च प्रतिनिधिहरू विशेष विमान चार्टर गरेर दिल्ली ओर्लिएका थिए । उनीहरूको एउटै मात्र उद्देश्य थियो- जुनसुकै मूल्यमा पनि १२ बुँदे समझदारी रोक्नु र नेपालको शान्ति प्रक्रिया भाँड्नु,’ प्रचण्डले भने, ‘ती सुपर पावरका प्रतिनिधिहरूले गिरिजाप्रसाद कोइरालालाई भेटेर कडा धम्की दिएका थिए । उनीहरूले भनेका थिए- आतङ्ककारी भनिएका माओवादीसँग कुनै पनि सम्झौता नगर, यदि सम्झौता गर्‍यौँ भने यसको निकै गम्भीर र अपूरणीय मूल्य चुकाउनुपर्नेछ । उनीहरूले गिरिजाबाबुलाई तर्साउन र समझदारी भाँड्न आफ्नो सम्पूर्ण साम्राज्यवादी शक्ति प्रयोग गरे । तर, गिरिजाबाबुले र हामीले लिएको अडान, नेपाली जनताको अधिकारप्रतिको निष्ठाका कारण हामीले कसैको धम्की सुनेनौँ र सम्झौता गरेरै छाड्यौँ ।’

विदेशी महाशक्तिले आफ्नो पूरा तागत लगाएर भिटो प्रयोग गर्न खोज्दा पनि नेपाली नेताहरूको अडानका कारण मात्रै शान्ति सम्झौता र गणतन्त्र सम्भव भएको प्रचण्डको भनाइ थियो। उनले अहिले पनि नेपाली राजनीतिमा त्यस्तै अदृश्य शक्तिहरूको खेल गम्भीर ढंगले चलिरहेको दाबी गरे। उनका अनुसार, त्यो खेल नेपालको संविधान समाप्त पार्ने र लोकतन्त्र खतरामा पार्ने दिशामा अघि बढिरहेको छ।

अध्यक्ष प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि पनि कडा वैचारिक र राजनीतिक प्रहार गरे। उनले रास्वपालाई नेपाली माटोको उपज नभई विदेशी शक्तिहरूले नेपालको कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न निर्माण गरेको पार्टी भएको आरोप लगाए। माओवादी आन्दोलन शहीदको रगत र श्रमजीवी जनताको पसिनाको जगमा ठडिएको ऐतिहासिक धरोहर भएको उल्लेख गर्दै उनले रास्वपाको जग डलर र वैदेशिक स्वार्थमा आधारित रहेको बताए।

‘रास्वपा कुनै आन्दोलन वा जनसङ्घर्षबाट जन्मेको पार्टी होइन । यो त विदेशी प्रयोगशालामा कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी शक्तिहरूलाई कमजोर बनाउन रणनीतिक रूपमा वासिङ्टनबाट बनाइएको पार्टी हो । यसको नेपथ्यमा बारबरा फाउन्डेसन, टिओबी र अमेरिकन यूथ काउन्सिल जस्ता डलर बोकेका साम्राज्यवादी संस्थाहरू क्रियाशील छन् । यी संस्थाहरूले अर्बौँ डलर लगानी गरेर, नेपाली सञ्चारकर्मी र केही महत्त्वाकाङ्क्षी युवाहरूलाई वासिङ्टन र न्युयोर्क पुर्याएर तालिम दिएका छन् र नेपालमा पठाएका छन् । यो नेपालमा नवउदारवादी फाँसीवाद लाद्ने एउटा व्यवस्थित प्रपञ्च हो ।’ रास्वपाले साम्राज्यवादी स्वार्थ अनुकूल नेपालको सङ्घीयता, समावेशी लोकतन्त्र र गणतन्त्रलाई सिध्याउने दाहालको आरोप छ ।

उनले आफ्नो पार्टीबाट रास्वपामा जान लागेकाहरू पनि रोकिएको दाबी गरे। नेपाली समाजको एउटा रैथाने उखान उद्धृत गर्दै प्रचण्डले भने, ‘पोले पनि घामै जाती, पिटे पनि आफ्नै आमा जाती, आफ्नै पार्टी जाती । हाम्रा धेरै नेता–कार्यकर्ताहरू जो अलिकति निराश भएर, अलिकति दिग्भ्रमित भएर उता बहकिन लागेका थिए, तीमध्ये ६० प्रतिशतभन्दा बढी अहिले आफ्नै पार्टी जाती भन्दै फर्किसकेका छन् ।’

रास्वपाले आफ्नो असली वर्ग–चरित्र र हैसियत के हो भन्ने कुरा १ सय दिनमै नेपाली जनतासामु स्पष्ट गरिदिएको प्रचण्डको भनाइ थियो। ‘उनीहरूको राष्ट्रियताको ढोंग, सुकुमबासीलाई उठिबास लगाउने जनविरोधी कृत्य र संसद्देखि सरकारसम्मका लज्जास्पद हर्कतहरूले उनीहरूको भ्रम छिट्टै टुटाइदियो,’ प्रचण्डले भने ।

फागुन २१ गते भएको निर्वाचनमा रास्वपाले हासिल गरेको चुनावी परिणामलाई ‘अप्रत्याशित र नाटकीय परिणाम’ भन्दै प्रचण्डले गम्भीर संशय व्यक्त गरे। उनले निर्वाचनको विश्वसनीयतामाथि प्रश्न उठाउँदै कतै मतपेटिका नै साटिएको त होइन भन्ने आशंका अरूले सुनाएको बताए।

‘हामीले चुनाव प्रचारका क्रममा प्रत्यक्ष देखेका छौँ, रास्वपाका तर्फबाट उम्मेदवार बनेका एक जना पात्रले चुनावको केही दिनअघि हाम्रा उम्मेदवारसँग भेटेर भनेका थिए- मेरो त जमानत जफत हुने भयो कमरेड, बढीमा ३ सय देखि ५ सय मत आउला, चुनाव सकिएपछि म तपाईँकै पार्टीमा प्रवेश गर्छु, मलाई संरक्षण दिनुहोला । तर, जब मतगणना सकियो र बक्सा खोलियो, तिनै पात्र कसरी एकाएक ४५ हजार मत ल्याएर विजयी भए ? यो कसरी सम्भव भयो ? हाम्रा साथीहरू जसको जित सुनिश्चित थियो, उनीहरूले आफैँले हालेको भोट समेत गायब भएको देख्नुपर्यो,’ प्रचण्डले भने ।

मतपेटिका नै साटिएको र ‘अल्गोरिदम’ को म्यानिपुलेशन तथा विदेशी डलरको नाङ्गो खेलमार्फत जनमत उल्ट्याइएको त होइन भनेर केही मानिसले अहिले पनि भन्ने गरेको उनले बताए। तर, निर्वाचनमा आफूहरू पनि सहभागी भएका कारण केही भन्ने ठाउँ नरहेको उनको भनाइ थियो। ‘यहाँ बडो चलाखीपूर्ण ढङ्गले षड्यन्त्रपूर्ण काम भयो,’ प्रचण्डले भने, ‘हामीले त्यस कुरालाई समयमै बुझ्न सकेनौँ ।’

प्रचण्डले २४ गते भएको आन्दोलन नियोजित ‘विध्वंस’ भएको दाबी गरे। ‘२४ गते एउटा विध्वंस भयो । यो अन्तिम भने होइन,’ प्रचण्डले भने, ‘तपाईँहरूले यत्तिमै खेल सकियो भन्ने ठान्नुभएको छ भने त्यो महाभूल हुनेवाला छ । अझ ठुलो विध्वंस हुनेवाला छ ।’

प्रतिगामी शक्तिहरूले संविधान नै खारेज गर्ने, सङ्घीयता र समावेशी अधिकारहरू समाप्त पार्ने र नेपालको लोकतन्त्रलाई समाप्त पार्ने दिशामा लैजान विभिन्न षड्यन्त्र गरिरहेको उनले दाबी गरे। अहिले राष्ट्रपति रामचन्द्र पौडेलमाथि पनि दबाब दिन थालिएको उनले बताए।

‘राष्ट्रपति संस्थामाथि समेत गम्भीर दबाब र धम्की सिर्जना दिइरहेको भनेर मलाई साथीहरूले सुनाएका छन् । उहाँलाई राजीनामा दिनुपर्ने धम्की गइरहेको कुरा के हो हामी सतर्क हुनुपर्छ । राष्ट्रपति टिक्दैनन् कि भन्ने हल्लाहरू बजारमा सुनिँदैछन् । नेपालको ७ दशक लामो आन्दोलनका उपलब्धिहरूलाई नै नामेट पार्ने रणनीतिक योजनाअनुसार यो भइरहेको छ,’ प्रचण्डले भने ।

उनले कोशी प्रदेशबाट फेरि नयाँ आन्दोलनको आँधीबेहरी सिर्जना हुनसक्ने चेतावनी दिए। ‘पूर्वमा फेरि आगो बल्न सक्छ । इतिहास साक्षी छ, जब जब देशमा राष्ट्रियता, जनअधिकार र सार्वभौमिकतामाथि सङ्कट आएको छ, पूर्वका जनताले नै पहिलो क्रान्तिको बिगुल फुकेका छन् । अहिले पनि राष्ट्रिय स्वाधीनताको रक्षाका लागि, संविधानमाथि वैदेशिक हस्तक्षेप परास्त गर्नका लागि आवश्यक परे एमाले र कांग्रेसका देशभक्त शक्तिहरूको समेत साथ लिएर पूर्वबाट नयाँ आन्दोलनको राँको बाल्न सकिन्छ,’ उनले भने ।

अन्तर्राष्ट्रिय शक्ति केन्द्रहरूले नेपालको आन्तरिक राजनीतिमा गरिरहेको हस्तक्षेप परास्त गर्न आफ्नो कूटनीतिक र अन्तर्राष्ट्रिय सम्बन्धलाई नयाँ ढंगले विस्तार गर्ने प्रचण्डले बताए।

‘केही दिन अगाडि माधवजी रसिया जानुभयो । म केही दिनपछि श्रीलङ्का जाँदैछु । अब देशभित्र मात्रै कुचुरकुचर गरेर केही नहुने स्थिति आयो,’ प्रचण्डले भने । श्रीलङ्का भ्रमणका क्रममा त्यहाँको कम्युनिस्ट पार्टीका नेताहरूसँग भेट हुने उनले बताए । ‘सम्भव हुँदा राष्ट्रपतिसँग पनि भेट्ने हो । तर, मुलरुपमा त्यहाँको कम्युनिस्ट पार्टीका नेताहरूसँग मेरो भेट हुन्छ,’ प्रचण्डले भने ।

दक्षिण एसियामा साम्राज्यवादी शक्तिहरू र सुपर पावरको हस्तक्षेपविरुद्ध अन्तर्राष्ट्रिय वामपन्थी मोर्चाबन्दी कसिलो बनाउनुपर्ने प्रचण्डको भनाइ थियो।

उनले आफू, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठ बुद्धभिक्षुजस्तो घण्टी बजाएर नबस्ने र नयाँ क्रमभङ्ग गर्ने दाबी गरे। महाधिवेशनमार्फत सक्षम युवालाई नेतृत्व सुम्पिने पनि उनले बताए। उनले संसद् र सडक दुवै मोर्चामा एमालेसँग सहकार्य गरिने बताए।

‘अब वामपन्थीहरू मिल्नुपर्छ । अहिले नै मिल्यौँ भने पनि संसदमा प्रमुख विपक्षी दल त भइन्छ,’ उनले एमालेसँग मिल्ने आशय व्यक्त गर्दै भने, ‘तत्कालका लागि एमालेसँग कार्यगत सहकार्य हुन्छ ।’

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button