एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले उनलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धानका लागि शुक्रबार साँझ पक्राउ गरेको हो ।
सीआईबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर जबराका अनुसार शेर्पामाथि हात्तीगौँडामा सञ्चालित टुङ्गराम इन्टरनेशनल एकेडेमीको आठ करोड ७८ लाख ३० हजार रुपैयाँ अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ । बाह्रखरीका अनुसार उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–६, गणेशचोकबाट पक्राउ गरिएको हो ।
ब्युरोले विद्यालयको कार्यकारी प्रमुख भएर काम गर्दा शेर्पाले विभिन्न प्रपञ्च गरी लाभ लिएको र विद्यालयलाई आर्थिक हानि पुर्याएको आरोपमा अनुसन्धान अघि बढाइएको जनाएको छ । विद्यालयको तर्फबाट अख्तियारप्राप्त रामचन्द्र बहाला श्रेष्ठको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको मुद्दामा अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार शेर्पाले विद्यालयलाई अनुचित हानि गर्ने नियतले डर, त्रास र अनुचित प्रभावमा पारी भक्तपुरको दधिकोटस्थित २९ रोपनी चार आना जग्गा आफ्नो स्वामित्वको कम्पनीमा बिक्री गराएको अनुसन्धानका क्रममा देखिएको छ ।
सीआईबीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ । यस विषयमा अदालतबाट दोषी ठहर नभएसम्म पक्राउ परेका व्यक्ति कानुनी रूपमा निर्दोष मानिन्छन् ।





