१३ असार २०८३, शनिबार

रास्वपा अब जिम्मेवार राजनीतिक शक्तिका रूपमा अघि बढ्छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले प्रथम महाधिवेशनसँगै रास्वपाले देशको प्रमुख राजनीतिक शक्तिका रूपमा आफ्नो वैधानिक र राजनीतिक पहिचान थप सुदृढ गरेको बताएका छन्।

चितवन उद्योग सङ्घको प्रदर्शनी हलमा आयोजित बन्दसत्रमा रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीबाट पद तथा गोपनीयताको शपथ लिएपछि पार्टीका नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै लामिछानेले अब पार्टी राष्ट्र निर्माणको महाअभियानमा अझ जिम्मेवार र प्रतिबद्ध भएर अघि बढ्ने बताए।

उनले महाधिवेशनले नयाँ राजनीतिक दललाई संस्थागत दलका रूपमा स्थापित गर्ने महत्त्वपूर्ण अवसर दिएको उल्लेख गरे। देशका विभिन्न क्षेत्रबाट कठिनाइ र प्रतिकूल मौसमका बाबजुद सहभागी भएका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा शुभचिन्तकलाई उनले धन्यवाद व्यक्त गरे।

पहिलो महाधिवेशन भएकाले व्यवस्थापन र आयोजनामा केही प्राविधिक तथा व्यवस्थापकीय कमजोरी भएको स्वीकार गर्दै लामिछानेले आगामी दिनमा त्यसबाट पाठ सिक्ने प्रतिबद्धता जनाए।

“यो हाम्रो पहिलो महाधिवेशन हो। पहिलो अनुभव भएकाले व्यवस्थापनमा केही स–साना कमजोरी भएका हुन सक्छन्, त्यसलाई हामी स्वीकार गर्छौँ। आगामी दिनमा यी कमजोरीबाट पाठ सिक्दै अझ सचेत र परिपक्व ढङ्गले सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्दछु,” उनले भने।

पार्टीभित्रको आन्तरिक लोकतन्त्र र चुनावी प्रतिस्पर्धाका विषयमा बोल्दै लामिछानेले लोकतान्त्रिक अभ्यासमा पदका आकाङ्क्षा देखिनु स्वाभाविक भएको बताए। प्रतिस्पर्धालाई व्यक्तिगत मनमुटावका रूपमा नभई संस्थागत लोकतान्त्रिक अभ्यासका रूपमा लिनुपर्ने उनको भनाइ थियो।

“पार्टीभित्रका आन्तरिक निर्वाचन र पदका आकाङ्क्षाहरूलाई हामीले विशुद्ध लोकतान्त्रिक अभ्यासका रूपमा लिएका छौँ। यो हलभित्र प्रतिस्पर्धा जे–जस्तो भए पनि, यस हलबाट बाहिर निस्किएपछि हामी सबै मनमुटाव त्यागेर एकजुट भई देश निर्माणको एउटै लक्ष्यमा अगाडि बढ्नुपर्छ,” उनले भने।

लामिछानेले देशको वर्तमान अवस्था र भविष्यप्रति पार्टीका नेता, सांसद र कार्यकर्ता थप जिम्मेवार हुनुपर्नेमा जोड दिए। जनताले रास्वपामाथि ठूलो भरोसा राखेको भन्दै उनले त्यो विश्वास कायम राख्नु पार्टीको प्रमुख उत्तरदायित्व भएको बताए।

“हामीमाथि जनताको ठूलो भरोसा छ। जनताको यो विश्वासलाई कायम राख्दै देश र जनताको हितमा निरन्तर लागिरहनु हाम्रो प्रमुख उत्तरदायित्व हो,” उनले भने।

महाधिवेशनका क्रममा देखिएका नयाँ र पुराना सदस्यबीचका सम्बन्धबारे टिप्पणी गर्दै उनले पार्टीभित्रको विविधतालाई मिलाएर लैजानु नै बलियो रास्वपाको संकेत भएको बताए। निर्वाचनका क्रममा प्यानल र सूची बनेको चर्चा भए पनि आम पार्टी सदस्य र मतदाताले विवेक प्रयोग गरेको उनको भनाइ थियो।

“हाम्रा आम पार्टी सदस्य र मतदाताहरूले विवेक प्रयोग गरे। उनीहरूका लागि कुनै प्यानल वा ग्रुप होइन, बनाउनेहरूले बनाए होलान्, त्यो पछि अध्ययनको विषय बन्ला। त्यसमा हामी समीक्षा गरौँला, हेरौँला, अध्ययन गरौँला,” उनले भने।

भर्खरै पार्टीमा आएका सदस्यहरूले पनि उच्च मत पाएको उल्लेख गर्दै लामिछानेले रास्वपामा सबैलाई स्वागत गरिएको सन्देश गएको बताए। उनले आन्तरिक प्रतिस्पर्धाका क्रममा देखिन सक्ने गुटबन्दी र मनमुटावलाई महाधिवेशनस्थलमै अन्त्य गर्नुपर्ने बताए।

“नयाँ र पुरानोको द्वन्द्व पनि आज अन्त्य भएको छ। यो गुट र त्यो गुटको कुरा पनि अन्त्य भएको छ। अंशहरू केही बाँकी छन् भने यसलाई यहीँ दफन गरेर जाऔँ। कहीँकतै वैमनस्यता बाँकी छ भने, यसले यहीँ अन्त्य पायो। यसको अन्त्येष्टि यहीँ, यही हलबाट गरेर हामी अगाडि बढ्नुपर्ने हुन्छ,” लामिछानेले भने।

सम्बोधनका क्रममा लामिछानेले नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम पार्टीको केन्द्रीय कार्यालयमा आयोजना गरिने जानकारी पनि दिए।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button