हेटौँडाको ड्रागन फ्रुट महोत्सवमा १८ लाखभन्दा बढीको कारोबार

हेटौँडा । हेटौँडामा जारी त्रिदिवसीय ड्रागन फ्रुट महोत्सवमा दुई दिनमै १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
स्थानीयस्तरमा उत्पादित ड्रागन फ्रुटको प्रवर्द्धन, बजार व्यवस्थापन तथा यसको स्वास्थ्य लाभबारे उपभोक्तालाई जानकारी गराउने उद्देश्यले बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालय, हेटौँडा उपमहानगरपालिका र प्रादेशिक कृषि थोक बजारले संयुक्त रूपमा महोत्सव आयोजना गरेका हुन्।
शनिबारसम्म सञ्चालन हुने महोत्सवको पहिलो दिन तीन हजार ५०० किलो र दोस्रो दिन चार हजार ५०० किलो ड्रागन फ्रुट बिक्री भएको हेटौँडा उपमहानगरपालिका कृषि विकास शाखा प्रमुख प्रदीप रेग्मीले जानकारी दिए। उनका अनुसार दुई दिनमा भएको बिक्रीबाट १८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको हो।
महोत्सवमा हेटौँडा, मकवानपुरगढीलगायत क्षेत्रका किसानले बगैँचाबाट सङ्कलन गरेका ताजा तथा प्राङ्गारिक ड्रागन फ्रुट प्रदर्शनी तथा बिक्री गरिरहेका छन्।
महोत्सवका अवसरमा ड्रागन फ्रुट खेती गर्न इच्छुक किसानका लागि माटो तयारी, बिरुवा रोपण, स्याहारसम्भार तथा रोग व्यवस्थापनसम्बन्धी निःशुल्क प्राविधिक परामर्श सेवासमेत प्रदान गरिएको छ।
हेटौँडा र आसपासको हावापानी ड्रागन फ्रुट खेतीका लागि उपयुक्त देखिएको सहभागी किसानहरूले बताएका छन्। उनीहरूका अनुसार महोत्सवले उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्न सहयोग गरेको छ।
महोत्सवले स्थानीय कृषि उत्पादनको बजारीकरणसँगै कृषि पर्यटन प्रवर्द्धन र स्थानीय अर्थतन्त्र सुदृढीकरणमा सकारात्मक योगदान पुर्याउने आयोजकको विश्वास छ।





