नर्वेमाथि फ्रान्सको ४–१ जित, डेम्बेलेको ह्याट्रिक

विश्वकप फुटबलअन्तर्गत समूह ‘आइ’ को अन्तिम खेलमा नर्वेलाई ४–१ ले पराजित गर्दै फ्रान्स सतप्रतिशत जितसहित समूह विजेताका रूपमा नकआउट चरणमा प्रवेश गरेको छ।
उस्मान डेम्बेलेले पहिलो हाफमै ह्याट्रिक पूरा गरेको खेलमा फ्रान्सले दोस्रो हाफको अन्तिम समयमा थप एक गोल गरेको थियो। समूहकै अर्को खेलमा सेनेगलले इराकलाई ५–० ले पराजित गर्दै उत्कृष्ट तेस्रो टोलीका रूपमा नकआउट चरणमा पुग्ने सम्भावना कायम राखेको छ।
नर्वेविरुद्ध फ्रान्सका स्टार फरवार्ड डेम्बेलेले ३२ मिनेटभित्रै ह्याट्रिक पूरा गरेका थिए। उनको ह्याट्रिकसँगै पहिलो हाफमै फ्रान्सले ३–१ को अग्रता बनायो। नर्वेका लागि थिलो आस्गार्डले एक गोल फर्काए। खेलको अन्तिम समयमा डिजायर डुएले फ्रान्सका लागि चौथो गोल गरे।
नर्वेले फ्रान्सविरुद्धको खेलमा अर्लिङ हालान्ड र मार्टिन ओडेगार्डसहित १० खेलाडी परिवर्तन गरेर मैदानमा उत्रिएको थियो। सुरुवातदेखि नै उत्कृष्ट लयमा देखिएको फ्रान्सले खेलभर दबदबा कायम राख्यो।
डेम्बेलेले गरेको ह्याट्रिक जारी विश्वकपको तेस्रो ह्याट्रिक हो। यसअघि अर्जेन्टिनाका लियोनेल मेसी र क्यानडाका जोनाथन डेभिडले ह्याट्रिक गरिसकेका छन्।
डेम्बेलेका लागि भने कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगितामा यो पहिलो ह्याट्रिक हो। उनी अहिले उच्च लयमा देखिएका छन्। उनका लामो दूरीका शक्तिशाली र सटीक प्रहारले जाली चुम्दा नर्वेको डिफेन्स र गोलरक्षक निरीह देखिए।
खेलको ३२औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै डेम्बेले विश्वकप इतिहासकै दोस्रो छिटो ह्याट्रिक गर्ने खेलाडी बनेका छन्। यसअघि सन् १९५४ मा अस्ट्रियाका एरिक प्रोब्स्टले चेकोस्लोभाकियाविरुद्ध २४औँ मिनेटमै ह्याट्रिक पूरा गर्दै सबैभन्दा छिटो ह्याट्रिकको कीर्तिमान बनाएका थिए।
ह्याट्रिकसँगै डेम्बेलेले प्रतियोगिताको सर्वाधिक गोलकर्ताको दौडमा आफूलाई बलियो रूपमा उभ्याएका छन्। उनको कुल गोल संख्या चार पुगेको छ। उनी किलियन एम्बाप्पे, अर्लिङ हालान्ड र भिनिसियस जुनियरसँगै चार गोल गर्ने खेलाडीको सूचीमा उक्लिएका छन्। जारी विश्वकपमा लियोनेल मेसी पाँच गोलसहित शीर्ष स्थानमा छन्। आजको खेलमा एम्बाप्पेले भने गोल गर्न सकेनन्।
समूह ‘आइ’ को अर्को खेलमा सेनेगलले इराकमाथि ५–० को फराकिलो जित निकालेको छ। यो जितसँगै सेनेगलले समूहमा तेस्रो स्थान सुरक्षित गर्दै उत्कृष्ट तेस्राे टोलीका रूपमा नकआउट चरण प्रवेशको आशा जीवित राखेको छ।





