१३ असार २०८३, शनिबार

ECOSOC स्थापनाको ८१ वर्ष : बहुपक्षीय सहयोगमा सक्रिय भूमिका खेल्ने रुसको प्रतिबद्धता

संयुक्त राष्ट्रसङ्घको आर्थिक तथा सामाजिक परिषद् ईकोसोक स्थापनाको ८१ वर्ष पूरा भएको छ। संयुक्त राष्ट्रसङ्घका छ प्रमुख अङ्गमध्ये एक ईकोसोकको पहिलो अधिवेशन सन् १९४६ को जनवरी–फेब्रुअरीमा बसेको थियो।

ईकोसोक संयुक्त राष्ट्रसङ्घभित्र सामाजिक, आर्थिक, वैज्ञानिक, प्राविधिक तथा वातावरणीय महत्वका अन्तर्राष्ट्रिय विषयमा छलफल गर्ने प्रमुख बहुपक्षीय मञ्चका रूपमा रहँदै आएको छ। यसले विश्वव्यापी विकास, मानवीय सहायता, सार्वजनिक स्वास्थ्य, मानव अधिकार, संस्कृति तथा शिक्षा, वातावरण संरक्षण र विकसित तथा विकासशील राष्ट्रबीचको प्रविधिगत खाडल घटाउनेजस्ता विषयमा अन्तर्राष्ट्रिय सहकार्यलाई अघि बढाउने भूमिका निर्वाह गर्छ।

परिषद्ले विभिन्न अध्ययन तथा प्रतिवेदन तयार गर्न अनुमति दिने, सिफारिसहरू गर्ने र संयुक्त राष्ट्रसङ्घका प्रमुख विषयगत सम्मेलनहरूबाट पारित निर्णयको कार्यान्वयन अवस्थाबारे समीक्षा गर्ने काम गर्छ। समन्वयकारी निकायका रूपमा यसले आफ्ना क्षेत्रीय तथा कार्यात्मक आयोग, संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम, कोष तथा विशिष्टीकृत निकायबाट प्राप्त प्रतिवेदनहरूको अध्ययन र समीक्षा पनि गर्दै आएको छ।

ईकोसोकले विश्वभरका गैरसरकारी संस्थासँग पनि सहकार्य गर्दै आएको छ। हाल छ हजारभन्दा बढी गैरसरकारी संस्था, जसमा करिब ७० वटा रुसी संस्था पनि छन्, ईकोसोकसँग परामर्शदातृ हैसियतमा आबद्ध छन्। यस व्यवस्थाले ती संस्थाहरूलाई परिषद् तथा यसका सहायक निकायहरूको काममा सहभागी हुने अवसर प्रदान गरेको छ।

सन् २०१२ देखि दिगो विकाससम्बन्धी संयुक्त राष्ट्रसङ्घीय उच्चस्तरीय राजनीतिक मञ्च पनि ईकोसोककै संरचनाअन्तर्गत आयोजना हुँदै आएको छ। यस मञ्चमार्फत रुससहित १९० सदस्य राष्ट्रले दिगो विकास लक्ष्य प्राप्तिका लागि आफ्ना प्रगति विवरण समेटिएका स्वैच्छिक राष्ट्रिय समीक्षा प्रस्तुत गरिसकेका छन्।

स्थापनाकालदेखि नै ईकोसोकको सदस्यता विस्तार हुँदै आएको छ। प्रारम्भिक अवस्थाको तुलनामा यसको सदस्य संख्या तीन गुणाले बढेर अहिले ५४ सदस्य राष्ट्र पुगेको छ। ती सदस्य राष्ट्रलाई संयुक्त राष्ट्रसङ्घीय महासभाले तीन वर्षे कार्यकालका लागि निर्वाचित गर्ने व्यवस्था छ। सन् २०२५ जुन ४ मा भएको प्रतिस्पर्धात्मक निर्वाचनबाट रुस सन् २०२६–२०२८ अवधिका लागि पुनः ईकोसोक सदस्यमा निर्वाचित भएको छ।

रुसले ईकोसोक स्थापना भएदेखि नै यसको काममा सक्रिय र रचनात्मक भूमिका खेल्दै आएको बताएको छ। लामो सदस्यता अनुभवका आधारमा रुसले यस मञ्चलाई विश्वव्यापी सामाजिक–आर्थिक विकास प्रवर्द्धन गर्ने प्रभावकारी संयन्त्रका रूपमा प्रयोग गर्दै आएको जनाएको छ।

रुसले ईकोसोकभित्र अन्तर्राष्ट्रिय प्रयासलाई थप सुदृढ पार्ने, यसको कामलाई अनावश्यक राजनीतिकरणबाट मुक्त राख्ने, परिषद्को अन्तरसरकारी र बहुपक्षीय चरित्रलाई बलियो बनाउने तथा आफ्ना आर्थिक उपलब्धिहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्ने प्रतिबद्धता दोहोर्‍याएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button