१३ असार २०८३, शनिबार

लागुऔषध दुरुपयोगविरुद्ध अन्तर्राष्ट्रिय दिवस : विश्वव्यापी नियन्त्रण प्रणाली बलियो बनाउन रुसको जोड

जुन २६ लाई लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइन्छ। संयुक्त राष्ट्रसङ्घीय महासभाको प्रस्ताव ४२/११२ मार्फत सन् १९८७ मा यो दिवस स्थापना गरिएको हो।

संयुक्त राष्ट्रसङ्घीय लागुऔषध तथा अपराध कार्यालय यूएनओडीसीले हरेक वर्ष यही अवसरमा सार्वजनिक गर्ने विश्व लागुऔषध प्रतिवेदनहरूले विश्वव्यापी लागुऔषध समस्या अझ जटिल बन्दै गएको तथ्य प्रस्तुत गर्दै आएका छन्।

हालको सबैभन्दा चिन्ताजनक प्रवृत्तिमध्ये सिंथेटिक लागुऔषधको तीव्र विस्तारलाई लिइएको छ। यसै सन्दर्भमा रुसले सन् २०२६ मार्चमा संयुक्त राष्ट्रसङ्घका महासचिवसमक्ष मेफेड्रोनसँग सम्बन्धित चार र मेथाडोनसँग सम्बन्धित एक पूर्ववर्ती रासायनिक पदार्थलाई अन्तर्राष्ट्रिय नियन्त्रणमा राख्न प्रस्ताव गरेको जनाएको छ। रुसले यो पहल कार्यान्वयन भए वर्तमान र भविष्यका पुस्ताको स्वास्थ्य तथा कल्याण संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

रुसका अनुसार लागुऔषध चुनौतीको सामना गर्नु उसको राष्ट्रिय सुरक्षाको प्राथमिकता हो। सन् २०३० सम्मका लागि तय गरिएको रूसी सङ्घको राज्यस्तरीय लागुऔषधविरोधी नीतिको रणनीतिमा पनि यो विषयलाई प्रमुख प्राथमिकताका रूपमा राखिएको छ।

रुसले सन् १९६१ को लागुऔषधसम्बन्धी एकल महासन्धि, सन् १९७१ को मनोप्रभावी पदार्थसम्बन्धी महासन्धि र सन् १९८८ को लागुऔषध तथा मनोप्रभावी पदार्थको अवैध ओसारपसारविरुद्धको संयुक्त राष्ट्रसङ्घीय महासन्धिलाई अन्तरराज्यीय सहकार्यको बलियो आधार मानेको छ।

रुसी पक्षले यी आधारभूत अन्तर्राष्ट्रिय साधनहरूको कडाइका साथ पालना हुनुपर्ने बताउँदै विद्यमान लागुऔषध नियन्त्रण प्रणाली कमजोर पार्ने कुनै पनि प्रयासको विरोध गरेको छ। केही देशमा गैरचिकित्सकीय प्रयोजनका लागि लागुऔषध प्रयोगमाथिको प्रतिबन्ध हटाउने वा राज्य नियमनमा ल्याउने प्रस्तावले लागुऔषध सेवनसम्बन्धी जोखिमबारे जनचेतना कमजोर बनाउने र अन्तर्राष्ट्रिय महासन्धिहरूको उल्लङ्घन गर्ने रुसको भनाइ छ।

विश्वव्यापी लागुऔषध समस्या समाधान र यसको चुनौतीलाई प्रभावकारी रूपमा सामना गर्न सबै सरोकारवालाबीच रचनात्मक, गैरराजनीतिक र व्यावहारिक सहकार्य आवश्यक रहेको रुसले जोड दिएको छ। विशेषगरी कानुन कार्यान्वयन निकायबीचको सहकार्यलाई उसले महत्त्वपूर्ण मानेको छ।

रुसले समान धारणा भएका देशहरूसँग मिलेर विद्यमान अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण प्रणालीलाई बलियो बनाउनुपर्ने र लागुऔषध दुरुपयोगमुक्त समाज निर्माण गर्नुपर्ने धारणा अघि सारेको छ। सन् २०२६ मार्च ९ देखि १३ सम्म भियनामा सम्पन्न संयुक्त राष्ट्रसङ्घीय लागुऔषध आयोगको ६९औँ अधिवेशनका क्रममा रुसको पहलमा प्रस्तुत संयुक्त वक्तव्यलाई ४३ देशले समर्थन गरेका थिए।

रुसले आफूले अन्तर्राष्ट्रिय दायित्व इमानदारीपूर्वक पूरा गर्दै आएको जनाएको छ। यूएनओडीसी तथा अन्य अन्तर्राष्ट्रिय संस्थासँग परियोजनामूलक सहकार्य, दाता सहायता र तालिम कार्यक्रममार्फत उसले मध्य एसिया, अफ्रिका, इरान, पाकिस्तानलगायत क्षेत्रका साझेदार देशहरूको क्षमता अभिवृद्धिमा योगदान गर्दै आएको बताएको छ।

रुसले वैध चिकित्सकीय प्रयोजनका लागि नियन्त्रित पदार्थको पहुँच असमान रहेको विश्वव्यापी समस्याप्रति पनि ध्यान दिएको जनाएको छ। उसले आवश्यक औषधिको उपलब्धता सुधार गर्न महत्त्वपूर्ण योगदान दिँदै आएको बताएको छ। रुस अन्तर्राष्ट्रिय लागुऔषध नियन्त्रण बोर्डको आईएनसीबी लर्निङ कार्यक्रमको प्रमुख दाता हो। यो कार्यक्रमले नियन्त्रित औषधिको वैध पहुँच सुधार, राष्ट्रिय प्रतिवेदनको गुणस्तर अभिवृद्धि र सम्बन्धित महासन्धिहरूको कार्यान्वयनलाई सहयोग पुर्‍याउने उद्देश्यले शैक्षिक तथा व्यावहारिक कार्यक्रम सञ्चालन गर्दै आएको छ।

रुसी भाषी देशहरूका लागि जुन २९ देखि जुलाई ३ सम्म र प्रजातान्त्रिक जनवादी गणतन्त्र कोरियाका लागि जुलाई १ देखि ३ सम्म आईएनसीबी लर्निङ तालिम सेमिनार मस्कोमा आयोजना हुने भएको छ। उक्त कार्यक्रम रूसी सङ्घको आर्थिक तथा संगठनात्मक सहयोगमा आयोजना हुने जनाइएको छ। जुलाई ३ मा हुने समापन समारोहमा रुसी उपविदेशमन्त्री दिमित्री ल्युबिन्स्की र स्वास्थ्य उपमन्त्री ओलेग सालागाई सहभागी हुने कार्यक्रम छ।

रुसले भविष्यमा पनि साझेदार देशहरूको लागुऔषध नियन्त्रण क्षमता अभिवृद्धिका लागि विशेषज्ञता आदानप्रदान र प्राविधिक सहायता विस्तार गर्ने जनाएको छ। साथै आगामी तालिम कार्यक्रमहरूको भौगोलिक दायरा थप फराकिलो बनाउने उसको योजना छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button