रुस र युक्रेनबीच कैदी साटासाट, १६० रुसी सैनिक स्वदेश फर्किने प्रक्रियामा

मस्को । रुस र युक्रेनबीच पुनः युद्धबन्दी साटासाट भएको छ। रुसी रक्षा मन्त्रालयका अनुसार जुन २६ मा युक्रेनी पक्षको नियन्त्रणमा रहेका १६० जना रुसी सैनिक फिर्ता भएका छन्। त्यसबापत १६० जना युक्रेनी युद्धबन्दी हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ।
रुसी रक्षा मन्त्रालयका अनुसार फिर्ता भएका रुसी सैनिकहरू हाल बेलारुसमा रहेका छन्। उनीहरूलाई रुसी मानव अधिकार आयुक्त याना लानत्रातोभाको समन्वयमा आवश्यक सहयोग उपलब्ध गराइँदैछ।
मन्त्रालयले फर्किएका सैनिकहरूलाई मनोवैज्ञानिक तथा चिकित्सकीय सहायता उपलब्ध गराइएपछि थप उपचार र पुनःस्थापनाका लागि रुस पठाइने जनाएको छ। उनीहरूको उपचार रुसी रक्षा मन्त्रालयअन्तर्गतका चिकित्सा संस्थाहरूमा गरिनेछ।
रुसी पक्षका अनुसार सैनिकहरूको फिर्ती प्रक्रियामा संयुक्त अरब इमिरेट्सले मानवीय मध्यस्थताको भूमिका निर्वाह गरेको थियो।
रुस–युक्रेन द्वन्द्वका क्रममा दुवै पक्षबीच विभिन्न चरणमा युद्धबन्दी साटासाट हुँदै आएको छ। पछिल्लो साटासाटलाई मानवीय आधारमा भएको अर्को महत्वपूर्ण प्रक्रिया मानिएको छ।





