१३ असार २०८३, शनिबार

भुटानी गृहमन्त्री लुम्बिनीमा, नयाँ विहारको शिलान्यास कार्यक्रममा सहभागी

भैरहवा । भुटानका गृहमन्त्री ल्योन्पो छिरिङ शनिबार बिहान नेपाल आइपुगेका छन्। उनी चार्टर उडानमार्फत बिहान करिब पौने ८ बजे भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्।

पारो विमानस्थलबाट ड्रुक एयर, रोयल भुटान एयरलाइन्सको एटीआर ४२–५०० विमानमार्फत उडान नं. केबी–४१०० बाट भुटानी टोली नेपाल आएको हो।

गृहमन्त्री छिरिङसँगै बौद्ध धार्मिक गुरु दोर्जी लोपिनसहित ३२ सदस्यीय टोली नेपाल आएको बताइएको छ। टोलीलाई नेपालका लागि भुटानका गैरआवासीय राजदूत मेजर जर्नेल भेत्सोभ नाम्ग्येल र लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ग्यानिन राईलगायतले स्वागत गरेका थिए।

विमानस्थलबाट भुटानी टोली लुम्बिनीतर्फ प्रस्थान गरेको थियो। लुम्बिनी पुगेपछि गृहमन्त्री छिरिङले बुद्ध जन्मस्थलस्थित मायादेवी मन्दिर, अशोक स्तम्भ र पुष्करणी पोखरीको अवलोकन गरेका छन्।

भ्रमणका क्रममा लुम्बिनी विकास कोषले उनलाई लुम्बिनीको ऐतिहासिक, धार्मिक तथा पुरातात्त्विक महत्त्वबारे जानकारी गराएको थियो। उनले लुम्बिनी विकास गुरुयोजनाबारे पनि जानकारी लिएका छन्।

भुटानी उच्चस्तरीय टोली लुम्बिनीमा भुटान सरकारले निर्माण गर्न लागेको नयाँ विहारको शिलान्यास कार्यक्रममा सहभागी हुन नेपाल आएको हो। महायानी क्षेत्रमा निर्माण हुने उक्त विहारका लागि भुटानले एक वर्षअघि नै जग्गासम्बन्धी सम्झौता गरेको थियो।

मायादेवी मन्दिर दर्शन तथा नयाँ विहारको शिलान्यास कार्यक्रममा सहभागी भएपछि टोली आजै अपराह्न करिब साढे ४ बजे सोही विमानमार्फत फर्किने कार्यक्रम रहेको बुझिएको छ।

बुद्ध जन्मस्थल लुम्बिनीमा भुटानको बढ्दो सक्रियता र नयाँ विहार निर्माणलाई नेपाल–भुटान धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button