१३ असार २०८३, शनिबार

कैदीबन्दीसँग रकम असुली आरोपमा अभिषेक गिरी पक्राउ, कारागारभित्रै प्रदर्शन

मोरङ – कैदीबन्दीको पोशाक भत्ता रकम हिनामिना गरेको आरोपमा अभिषेक गिरी पक्राउ परेपछि मोरङ जिल्ला कारागारभित्रै कैदीबन्दीहरूले विरोध प्रदर्शन गरेका छन्। कारागारको ‘बी’ ब्लकमा रहेका कैदीबन्दीहरूले गिरीको पक्राउको विरोधमा नाराबाजी गरिरहेका छन्।

कारागार प्रमुख राजन घिमिरेका अनुसार ‘बी’ ब्लकमा ५३६ जना कैदीबन्दी रहेका छन्। उनीहरूले पोशाक भत्ताको रकम नियमित रूपमा नपाएको भन्दै आक्रोश व्यक्त गरेका हुन्।

सरकारले वर्षमा दुई पटक कैदीबन्दीका लागि पोशाक भत्ता रकम उपलब्ध गराउँदै आएको छ। गर्मी मौसमका लागि प्रत्येक कैदीलाई २ हजार ५ सय रुपैयाँ उपलब्ध गराउने व्यवस्था रहेकोमा गिरीले उक्त रकम हिनामिना गरेको आरोप लागेको छ।

कारागारमा ‘ए’, ‘बी’ र महिला ब्लक गरी कुल १ हजार २ सय ६ जना कैदीबन्दी रहेका छन्। घटनापछि कारागारमा उच्च सतर्कता अपनाइएको छ।

प्रहरीले गिरीलाई पक्राउ गरी आवश्यक अनुसन्धान सुरु गरेको छ भने कारागार प्रशासनले स्थिति नियन्त्रणमा लिन प्रयास गरिरहेको छ।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button