१३ असार २०८३, शनिबार

मिडफिल्डर रेनुका नगरकोटी वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी मिडफिल्डर रेनुका नगरकोटी वर्ष २०८२ को सर्वोत्कृष्ट महिला फुटबल खेलाडी अवार्डबाट सम्मानित भएकी छन्। योङ स्टार फाउण्डेसनले शनिबार एक कार्यक्रम आयोजना गरी रेनुकालाई अवार्ड तथा नगद एक लाख रुपैयाँसहित सम्मान गरेको हो। फाउन्डेसनका अध्यक्ष मोहनचन्द्र सिंहले सो अवार्ड प्रदान गरेका हुन्।

रेनुका घरेलु फुटबलमा एपिएफबाट खेल्दै आइरहेकी छिन्। नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) सँगको सहकार्यमा फाउण्डेसनले गत वर्षदेखि उत्कृष्ट महिला फुटबल खेलाडीलाई सम्मान गर्न सुरु गरेको हो। गत वर्ष यो अवार्ड प्रिती राईले जितेकी थिइन्। घरेलु महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै एक महिला खेलाडीलाई वर्षेनी सम्मान गर्ने योजनाअनुसार रेनुकालाई सम्मान गरिएको अध्यक्ष सिंहले बताए।

सन् २०१० देखि नियमित रूपमा नेपाली महिला टिमबाट खेलिरहेकी रेनुकाले राष्ट्रिय जर्सीमा ६३ खेल खेलिसकेकी छन्। सम्मानित भएपछि उनले अत्यन्त खुशी व्यक्त गर्दै परिवारकै कारण नेपाली फुटबलमा निरन्तर योगदान गर्न पाएको र यस्ता अवार्डले खेलकुदमा लाग्न प्रेरित गरिरहेको बताइन्। फाउन्डेसनप्रति आभार व्यक्त गर्दै उनले यसले आफूलाई थप जिम्मेवार बनाएको समेत प्रतिक्रिया दिइन्।

सोही कार्यक्रममा फाउण्डेसका अध्यक्ष सिंहद्वारा लिखित ‘अल्फा सिएरा माइक’ नामक पुस्तकको विमोचन पनि गरिएको छ। उक्त पुस्तकमा उनको जीवनका भागाइ, नेपाली उड्डयन, खेलकुद र मिडियासँग जोडिएका विषयहरू समावेश गरिएका छन्।

Show More

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button