पत्रकार धनराज साउदलाई समाचारको स्रोत खुलाउन दबाब र धम्की दिएकोप्रति महासंघको ध्यानाकर्षण

अछाम – नेपाल पत्रकार महासंघले अछामस्थित बान्नीगढी जयगढ गाउँपालिकाका अध्यक्ष टेकबहादुर साउदले पत्रकार धनराज साउदलाई समाचारको स्रोत खुलाउन दबाब र धम्की दिएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
महासंघ अछाम शाखाका अनुसार यही असार ११ गते अध्यक्ष साउदले आफ्नै कार्यकक्षमा बोलाएर महासंघ सुदूरपश्चिम प्रदेश समितिका सचिवसमेत रहेका पत्रकार धनराजलाई यस्तो व्यवहार गरेका हुन्। समाचारप्रति गुनासो भए विधिसम्मत समाधान खोज्नु पर्नेमा जिम्मेवार जनप्रतिनिधिबाट पत्रकारलाई धम्क्याउने कार्य स्वतन्त्र प्रेसविरोधी र अशोभनीय भएको महासंघले भर्त्सना गरेको छ।
महासंघले घटनाको छानबिन गरी दोषीउपर कारबाही गर्न सम्बन्धित निकायसँग माग गरेको छ। महासंघका महासचिव रामप्रसाद दाहालले सो घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको र आवश्यक कारबाहीका लागि पहल गरिने जानकारी दिएका छन्।





